काठमाडौं । विस्तारको चरणमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत् मलेखुदेखि नौबिसेसम्मको सडक खण्ड रातिमा ५ घण्टा बन्द हुने भएको छ । बुधबारदेखि १५ दिनसम्मका लागि राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ ।
सडक विस्तारका धेरै काम सकिए पनि सो क्षेत्रमा बनेको बिमलाई पुलमा राख्नका लागि सडक बन्द गर्न लागिएको हो । बिम उचाल्दा हुन सक्ने जोखिम रोक्नका लागि सडक नै बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको आयोजनाले जनाएको छ । साथै, सो समयमा सो क्षेत्रको यात्रा गर्नै परे वैकल्पिक मार्गको प्रयोग गर्न पनि आयोजनाले आग्रह गरेको छ ।
आयोजनाका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ । सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।