

काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको हो । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।
देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको हो । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका-३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ। नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका-६ घर भई हालः सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो । गम्भीर घाइते भएका विकको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।