

मुग्लिन (चितवन) । पछिल्लो समय मनसुनी जोखिम बढेको छ । यस वर्ष झनै भारी वर्षाको सम्भावना रहेकोले यस वर्ष बाढी पहिरोका घटनाहरू बढ्दै गएको छ । यस्ता घटनाहरू बढ्दै जाँदा यसबाट उद्दार गर्नका लागि सशस्त्र प्रहरीले गोताखोर तालिम दिने गरेको छ । सो तालिम सकेका सशस्त्र प्रहरीले उद्दारका लागि आफ्नो ज्यान जोखिममा पारेर उद्दारका लागि खटिने गर्छन् ।
चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले गोताखोर तालिम सञ्चालन गर्ने गर्छ । यो वर्ष पनि शिक्षालयमा सशस्त्रले गोताखोर तालिम सम्पन्न गरेको छ । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालका अनुसार नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको छ । प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो ।
प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए । कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडामगर, चितवन, धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो ।
यसरी तालिम लिएका गोताखोरहरूले नेपाली सेनाको उद्दार टोलीसँग मिलेर यो सिजनको मनसुनजन्य विपद्को उद्दारका लागि काम गर्ने बताइएको छ ।