

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद्को बेलामा जिल्ला नछाड्न सबै जिल्लाका सीडीओहरूलाई निर्देशन दिएका छन् । बिहीबार भर्चुअल माध्ययममा जोडिएका सीडीओहरूलाई अर्यालले वर्षासँगै मनसुनजन्य विपद् आइपर्नसक्ने भन्दै सचेत रहन निर्देशन दिएका हुन् । बैठकमा ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जोडिएका थिए ।
सचिव अर्यालले प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने भन्दै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्ति तत्काल उपलब्ध हुने गरी तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन् ।
यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन् । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको उनले बताए । गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए ।