राजीनामा बोकेर प्रधानमन्त्रीलाई भेट्न गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिई घर फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उहाँहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगित गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार बिहीबार बिहान ९ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उप सभापतिद्वय डिपी अर्याल र डाक्टर स्वर्णिम वाग्ले साथै प्रमुख सचेतक सन्तोष परियारले दाहालसँग भेटेका थिए ।
प्रधानमन्त्रीज्यूले संविधान र कानुनले दिएको समय सीमा भित्र विश्वासको मत लिनको लागि प्रक्रिया थाल्ने र त्यहाँसम्म साथ दिनको लागि अनुरोध गरेपछि त्यसै फर्किएको झाले बताए ।
सभापति रवि लामिछानेले सदनमा विश्वासको मत लिनका लागि यथाशीघ्र मिति तय गर्न सुझाव दिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरूको राजीनामाको विषयमा दलभित्र छलफल गरेर निर्णय दिने जानकारी दिए ।