काठमाडौं । वागमती प्रदेश सरकारले प्रदेश लोकमार्गलाई व्यवस्थित गर्नका लागि प्रदेश सडक गुरुयोजना तयार पारेर कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले गुरुयोजना अन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सार्वजनिक सडक ऐन, २०७८ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी प्रदेश सार्वजनिक सडकहरूलाई प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको पहिचान तथा वर्गीकरण गरी गुरुयोजना कार्यान्वयनमा अघि बढेको हो । जुन गुरुयोजनामा समेटिएका काठमाडौंबाट सुरु हुने लोकमार्गहरुको सूची निम्नानुसार रहेको छ ।
मन्त्रालयद्वारा निर्धारित प्रदेश लोकमार्गहरू
प्रदेश सरकारले आगामी वर्ष भैंसे–कुलेखानी–छैमले–बल्खु सडकलाई प्रदेश लोकमार्गको रूपमा विकास गर्ने भएको छ । काठमाडौं–हेटौंडा जोड्ने ६७ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नतिसहित विकास गर्ने सरकारको तयारी छ ।
प्रदेश लोकमार्गका रुपमा सरकारले बालाजु–नेपालटार–साङ्गला सडकलाई विकास गर्ने भएको छ । काठमाडौँको बालाजुबाट नेपालटार हुँदै साङ्गलासम्मको ९ किलोमिटर सडकलाई बालाजु बाईपास सडकको रुपमा प्रयोग हुँदै आएको छ । ।
त्यस्तै, गणेशमान सिंह मार्ग नामकरण गरिएको २९ किलोमिटर लम्बाइको ९कुन्छाल चित्लाङ थानकोट चेकपोष्ट सडक० र ३३ किलोमिटर लम्बाइको मनमोहन मार्ग ९चावहिल–साँखु–फट्केश्वर० सडक पनि प्रदेश सरकारको बजेटमा समेटिएको छ ।
गुरुयोजना अन्तर्गत मन्त्रालयले मैत्री मार्ग नामकरण गरी काठमाडौँदेखि सिन्धुपाल्चोकको बलेफी जोड्ने सडक आयोजना विकास गर्ने भएको छ । ६४ किलोमिटर लम्बाइको मैत्री मार्ग काठमाडौँबाट कात्तिके, चुरीथुम्का, सिपाघाट, चौताराहुँदै बलेफी जोडिने छ ।
गुरुयोजना अन्तर्गत ५१ किलोमिटर लम्बाईको तीनपिप्ले–ओखरपौवा–कोल्पुटार–गल्छी सडक, ४६ किलोमिटरको धादिङबेसी–स्याउले–बडरथोक–काफलपानी मांद्रेढुंगा सडक, २१ किलोमिटर लम्बाइको सुकुटे–मिलडाँडा–बाघभैरव–बाफल–लिसंखु–घ्याङडाँडा एक्काइस किलो सडक आयोजना समावेश गरिएको छ ।
मन्त्रालयले ललितपुर र मकवानपुरलाई जोड्ने गरी प्रदेश लोकमार्ग निर्धारण गरेको छ । मन्त्रालय ललितपुरको बागमती गाउँपालिका र मकवानपुरको बकैया गाउँपालिका जोड्ने गरी प्रदेश लोकमार्ग निर्धारण गरेको हो ।
मन्त्रालयको मापदण्डअनुसार ललितपुरको बगुवा–प्युटार–आश्राङ–गिम्दी खुर्मी–मन्थली– शिखरपुर–हात्तीसुँडे सडकलाई प्रदेश लोकमार्गका रूपमा विकास गर्ने भएको छ । ४७ किलोमिटर लम्बाइको उक्त सडकलाई स्तरीकरण गरी लोकमार्गको रूपमा विकास गर्ने मन्त्रालयको तयारी छ ।
भक्तपुरबाट काभ्रेको दोलालघाट जोड्ने गरी ५६ किलोमिटर लम्बाइको सल्लाघारी–कमलविनायक–खरिपाटी–नगरकोट–हिंमुवापाटी–दोलालघाट सडक गुरुयोजनामा समावेश गरी अघि बढाइएको छ ।