काठमाडौं । रास्वपा महामन्त्री मुकुल ढकालले पार्टी केन्द्रीय कमिटी बैठकमा मुखमा कालो पट्टि लगाएर बसेका छन् । बैठकलाई लाइभ गर्न माग गर्दै आएका ढकालले आफ्नो माग सुनुवाई नभएपछि बैठकमा कालो पट्टी लगाएर बसेका हुन् ।
आफ्नो देश दौडाहपछिको प्रतिवेदनमा पार्टीको कमजोरीका बारेमा मुख खोलेका ढकाल अहिले पार्टीको चौतर्फी निशानामा परेका छन् । उनीमाथि कारबाहीको तयारी समेत भइरहेको बेलामा बस्न लागेको बैठकलाई लाइभ गर्न उनले माग गर्दै आएका छन् । उनले बोल्न पाउने लोकतान्त्रिक हकको हनन् भएको भन्दै उनले यस्तो गरेका हुन् ।
उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् । ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।
प्रहरीको उच्च सुरक्षा
त्यसो त केन्द्रीय समिति बैठकको समयमा वनस्थलीस्थित पार्टी मुख्यालयमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । पार्टी केन्द्रीय कार्यालयभित्रै प्रहरीले पहरा दिएर बसेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको रहेको रास्वपामा महामन्त्रीले बुझाएको प्रतिवेदनले तरंग ल्याएको हो । आन्तरिक कुरा मिडियावाजी गरेको भनेर ढकाललाई स्पष्टीकरणसमेत सोधिएको थियो ।