काठमाडौं खबर असार १८, २०८१
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिपक्षमा रहेका दलहरूलाई छलफलमा बोलाउने निर्णय गरेको छ ।
छलफल साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुनेछ । छलफलमा राप्रपा, जनमोर्चा, लोसपा, जसपालाई बोलाउने निर्णय भएको छ । सत्ता साझेदारीको सम्बन्धमा नेकपा एमालेसँग समझदारी गरिसकेको काँग्रेसको मंगलबार बसेको बैठकले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने निर्णय गरेको थियो ।
एमालेसँगको समझदारीको बारेमा जानकारी दिनका लागि बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले बोलाइएको थियो । जसमा राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न एमालेसँग सहमति गरिएको बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।