काठमाडौं । राजनीतिका शिखर पुरुषको रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको एक सयौं वर्षे जन्मजयन्ती आज मनाइँदैछ । नेपाली राजनीतिमा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर सहमति, सहकार्य र एकताको विगुल फुक्ने कोइरालाको जन्मदिन भव्य रूपमा मनाइँदै छ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्वनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।
कसरी चिन्ने कोइरालालाई ?
विसं १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट जन्मिएका कोइराला विसं २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनले २००७ सालको आन्दोलन, २०४६ साल र २०६३ सालको जनक्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला नेपाली काँग्रेसको नेतृत्वमा भने २०५३ सालदेखि मात्रै पुगेका थिए । कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका थिए ।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।
कोइराला पाँचौं सभापतिको रूपमा २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहेका थिए । विसं २०४८, २०५५ र २०५६ मा गरी उनी २०६२÷२०६३ को आन्दोलनअघि तीनपटक प्रधानमन्त्री बनेका थिए । विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व सम्हालेका थिए। गिरिजाबाबुकै नेतृत्वमा २०६२–६३ को आन्दोलन पनि सफल भएको थियो । क्रान्तिकारी नेता कोइरालाले आँट गरेकै कारण तात्कालीन माओवादीको प्रस्तावअनुरुप नेपालमा गणतन्त्र आएको थियो। २०४६ सालभन्दा अगाडिसम्म उनी क्रान्तिकारी थिए। कोइरालालाई चौथो आयाम भएको व्यक्तित्वका रुपमा लिने गरेका छन्।
उनको हक्की स्वभावकै कारण कोइरालाले नेपाली काँग्रेसको नेतृत्व गरेका थिए। उनी आफ्नो जीवन कालमा चार पटकसम्म प्रधानमन्त्री पनि भए। जीवनको उत्तरार्धमा उनी कम्युनिष्टहरुसंग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल भएका थिए। विपीको सिद्धान्त मान्दै र परिस्थिति हेरेर भत्काउँदै आएका गिरिजाबाबु जुनसुकै हालतमा काँग्रेस नै एक मात्र जनताको पार्टी भएको बताउँथे । १० वर्ष लामाे जनयुद्धले गिरिजा-प्रचण्ड सहमतिपछि शान्तिपूर्ण मार्ग लिएकाे थियाे। दोस्रो जनआन्दोलनको नेतृत्व पनि गिरिजाबाबुले नै गरेका थिए।
२०६३ मंसीर ५ गते गिरिजाप्रसाद काेइराला र प्रचण्डबीच बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएकाे थियाे। २०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट विरोधी भनेर चिनिएका गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अगाडि बढेका थिए।