- आकाश सर्मा
त्यसो त विकास भनेको बहुआयामिक पक्ष हो । उत्पादन र उत्पादकत्व, न्यायपूणर् वितरण, स्रोत र साधनको दिगो प्रयोग र मानिसलाई खुसी बनाउनु नै विकासको मुख्य पक्ष हो । विकासको कुरासँगै अहिलेका चलनचल्तीको भौतिक संरचनामुखी विकासले आर्थिक, सामाजिक रूपान्तरण संभव छ ? जनताको दैनिकी बदल्न संभव छ ? आर्थिक समृद्धि, प्रगति र उन्नति संभव छ ? आखिर हामीले कस्तो विकास खोजिरहेका छौं ? यस्तो विकासले कसलाई फाइदा पुग्छ ? अनि यो विकास कसका लागि हो ? जस्ता दर्जनौँ प्रश्नहरू निस्किन्छन् ।
तपाइँ हाम्रा वरिपरी देखिने विकासका थुप्रै ढाँचाले हामी कुटुक्क खान सक्छ । ‘विकास’ को अर्थ हो, अपेक्षित दिशातर्फको परिवर्तन । अर्थात्, सामान्य रूपमा विकासको अर्थ उत्पादन र उपभोगको वृद्धिले ल्याउने आर्थिक, सामाजिक परिवर्तन हो । के हाम्रो स्थानीय सरकार त्यतातिर उन्मुख छ त ?
तपाइँ हामीले जिताएर पठाएका जनप्रतिनिधिलाई नियालौँ । उनीहरुको क्षमता, दक्षता अनि शैलीलाइ बुझौँ अनि उनीहरूको सामाजिक सञ्जाल केलाऔँ । यसपछि हाम्रा जनप्रतिनिधिले बुझेको विकास भनेको के हो ? र यो कहाँ पुग्दैछ ? भन्ने साङ्गोपाङ्गो चित्र तपाइँ हाम्रो अगाडी आउँछ ।
आजका मानिस कामतिरभन्दा सामाजिक सन्जालमार्फत भजाउनेतिर सक्रिय छ । राष्ट्रिय राजनीतिदेखि सबै कुरामा हामीले गहिरिएर हेर्योँ भने मानिसहरू नेताहरूको सामाजिक सन्जालमार्फत नै अपडेट भैरहेका छन् । गाउँठाउँ भएकाले हामीले स्थानीय जनप्रतिनिधिलाई नजिकबाट चिनेका मात्र है उनीहरूको सबै पक्षबारे बुझेका हुन्छौँ । स्थानीय जनप्रतिनिधिका सामाजिक सन्जालमा पनि गजबले दिइरहेको देख्न सकिन्छ । उनीहरूका सामाजिक सन्जालले नै “उनीहरू के विकास अवधारणा वा व्यख्यामा छन् त ?” भन्ने प्रश्नको उत्तर दिन्छ ।
बुढानीलकण्ठका जनप्रतिनिधितिर नज़र लगाऔँ । उपमेयर अनिता लामाबाहेकका सबै जनप्रतिनिधिको सामाजिक सन्जालमा हेर्नुस् त्यहाँ ‘ढालन’मात्र देख्न सकिन्छ । १० देखि १२ फुटे सडकमा ढलान गरेर ‘हामी विकासे गतिबिधिमा रातदिन नभनी सक्रिय छौँ’ भनेर ढलानदेखि आफ्नो तस्वीरसम्म राखेर उनीहरूले पोस्ट गरेको देखिन्छ ।मानौँ बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको विकास भनेको ढलान मात्र हो ।
यस नगरपालिकाका मेयर मिठाराम अधिकारी समाजिक सन्जालनै चलाउने नसक्ने भएकाले उनका समाजिक सन्जाल विकास वा विनाश कुनै पनि विषयमा मौन नै रहन्छ । कहिँ कतै केही देखियो भने त्यो पार्टीको विषयमात्र देखिन्छ । सहजै अनुमान गर्न सकिन्छ कहिलेकाँही चल्ने अधिकारीको समाजिक सन्जाल उनको पिए वा कसैले चलाउँछ भनेर ।
बुढानीलकण्ठका जनप्रतिनिधिको ढलान मोह नेपालको विकासको सही प्रतिबिम्ब पनि हो । पार्टीहरूले भाट कार्यकर्तालाई चुनाव उठाउने अनि चुनाव चिन्हका आधारमा जनताले मतदान गर्ने परिपाटीले निम्त्याएको उत्कृष्ट विकासे मोडल हो ‘ढलान’ । ‘ढालन’सँग कमिसनको मिठास पनि छ । वडा सदस्य जित्न पनि लाखौँ खर्चिएकाहरूले विकासलाई ‘ढलान’ तिर नमोडे लगानी उठाउने कसरी ? भनिन्छ “कमाइ जे छ, जति छ सबै ढलानमै छ” । त्यसैले बुढानिलकण्ठतिर ढलानै ढलान छ । बुढानीलकण्ठ अर्थात ‘ढलान’ ।