

- डा राजेन्द्र पौडेल
नागढुंगा–नौबिसे–मुग्लिन (एनएनएम) सडक देशको पश्चिम भूभाग र तराईलाई काठमाडौसँग जोड्ने महत्वपूर्ण व्यापारिक तथा पारवहन मार्गको रुपमा रहेको छ । तराई क्षेत्र र भारतसँग काठमाडौं उपत्यका जोड्ने अन्य सडक पनि छन् तर सहज र सुरक्षित व्यावसायिक सवारीसाधन आवतजावतका लागि भरपर्दा छैनन् । यो सडक एसियाली राजमार्गको एक महत्वपूर्ण सडकखण्ड हो । मुग्लिनदेखि काठमाडौंसम्मको सडक कमजोर पहाडी भूभागहरु हुँदै बनेकाले भौगर्भिक हिसाबले अप्ठ्यारो र असुरक्षित मानिन्छ । यस रुटमा दैनिक औसत सवारी आवागमन तुलनात्मक रुपमा धेरै उच्च भएकाले, सडकको अवस्था र उपलब्ध सुविधाहरू प्रभावकारी प्रदान गर्न पर्याप्त थिएनन्, त्यसैले यो सडकको समयमै सुधार गर्नु आवश्यकता थियो फलस्वरुप हाल विश्व बैंकको आर्थिक सहयोगमा मुग्लिन–नागढुङ्गा खण्डको ९५ किलोमिटरमा सडक विस्तारको काम भइरहेको छ । जसअनुसार मुग्लिन–नागढुङ्गा सडकमा अवस्थित दुई लेनको सडकलाई भौगोलिक अवस्थाका आधारमा दुई लेनबाट छ लेनसम्म फराकिलो बनाइनेछ । करिब ३० वर्षअघि निर्माण भएको सडकलाई समयसापेक्ष ट्राफिकको चापअनुसार स्तरोन्नति र फराकिलो बनाइने छ ।
यो सडक काठमाडौंको नागढुंगाबाट सुरु भएर सिस्नेखोला हुँदै खानीखोला, नौबिसे, धार्के, गल्छी, मलेखु, बेनीघाट, कुरिनटार, मनकामना हुँदै मुग्लिनमा समापन हुन्छ । नागढुंगादेखि नौबिसे (१२ दशमलव तीन किलोमिटर लम्बाइ)सम्म आयोजनाको सडकको भाग त्रिभुवन राजमार्ग र नौबिसेदेखि मुग्लिनसम्मको खण्ड (८२ दशमलव चार किलोमिटर लम्बाइ) पृथ्वीराजमार्गअन्तर्गत पर्दछ । यसरी हालकोे सडकको कुल लम्बाइ करिव ९५ किलोमिटर रहेको छ ।
माथि भनेजस्तै यो सडक कठिन र कमजोर भौगोलिक भूभागअन्तर्गत रहेको र देशको राजधानीसँग जोडिएको एक मात्र भरपर्दो व्यापारिक मार्ग भएकाले पनि सवारी चाप उच्च छ र सडक सुरक्षाका हिसाबले अत्यन्तै जोखिमपूर्ण पनि छ । विगत केही महिनायताको तथ्यांक हेर्ने हो भने पनि पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डमा सडक दुर्घटनाको कारण दुई दर्जनभन्दा बढी मानिसहरुको मृत्य भइसकेको छ भने सैयौं संख्यामा यात्रुहरु घाइते भएका छन् । यो सडकखण्डमा हरेक वर्ष औसतमा एक सय वटा सवारी दुर्घटना हुने गरेको पाइन्छ । असुरक्षित सडक पूर्वाधार, असुरक्षित सवारी साधन, सडक प्रयोगकर्ताको व्यवहार, अनुभवहीनता र जोखिम लिने व्यवहार, अत्याधिक गति, लापरवाहीपूर्वक सवारी चलाउने, ट्राफिक नियम उल्लंघन, मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने सडक दुर्घटनाका प्रमुख कारक तत्वहरु हुन् । यसबाहेक, यो मार्ग अस्थिर भौगोलिक क्षेत्रमा अवस्थित छ, जसले नियमित पहिरोका कारण संरचनात्मक क्षति पुर्याउँदै आएको छ । यस्ता केही दुर्घटनाहरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा निमार्णाधीन सडकको कारणले भएका छन् भने अधिकांश निर्माणकार्य सँग असम्बन्धित छन् ।
सडकमा हुने यस्ता ट्राफिक दुर्घटनाहरूबाट धेरै मानिसहरुको मृत्यु हने र बाँचेकाहरु पनि अंगभग वा अपाङ्ग जीवन बिताउन पर्ने कारणले सडक दुर्घटनाहरु विश्वमा सबैभन्दा गम्भीर चिन्ताको विषय बन्छन् । यस्ता घटनाहरुले परिवार, समाज र समग्र देशको लागि नै दूरगामी सामाजिक र आर्थिक प्रभाव पारिरहेका हुन्छन् । हाम्रोजस्तो विकासोन्मुख देशमा त झन् सडक सुरक्षा सबैभन्दा ठूलो समस्या र चुनौतीको विषय बनेको छ । तथ्याङ्कले के देखाउँछ भने सडक दुर्घटना, विश्वभर मृत्युदरको आठौं ठूलो कारण हो र २०३० सम्ममा यो शीर्ष पाँचमा स्थानमा पुग्ने आकलन गरिएको छ । नेपाल पनि सडक दुर्घटनाहरुको वृद्धिदरबाट आक्रान्त छ र दिनहुँ घट्ने यस्ता कहालीलाग्दा घटनाहरुको अपूरणीय क्षतिप्रति केही गम्भीर देखिन्छ । तथ्याङ्कअनुसार नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा औसत १४ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । महिलाभन्दा बढी पुरुष प्रतिलाख ११ जना सडक दुर्घटनाको चोटपटकका कारण मदर्छन् ।
यो राजमार्गमा विभिन्न प्रकारका साधनहरु जस्तै मोटरसाइकल, बस, लरी, मल्टिएक्सेल कमर्सियल गाडीलगायतका सडक प्रयोगकर्ताहरू छन् । नेपालमा प्राय सडक दुर्घटनाहरूमा मोटरसाइकलहरू समावेश भएको पाइन्छ भने यो सडकमा पनि अधिकांश दुर्घटना ट्रक, बस, मोटरसाइकल र कार-भ्यानबाट हुने गर्दछ । बस, मोटरसाइकल र कार-भ्यानपछि सबैभन्दा धेरै दुर्घटना ट्रकहरूले गदर्छन । एक अध्ययनअनुसार यो सडकखण्डका दुर्घटनाहरूमा ट्रक र मिनी ट्रकहरू सबै ४५ प्रतिशत, बस, मिनीबस र माइक्रोबस सबै १९ प्रतिशत, कार, भ्यान १८ प्रतिशत र मोटरसाइकल १८ प्रतिशत जिम्मेवार भएको देखिन्छ ।
त्यस्तै, ५३ प्रतिशत दुर्घटना रातमा र औसत ४७ प्रतिशत दिनमा भएका छन् । यसले दिउँसो ड्राइभिङभन्दा रातमा ड्राइभिङ जोखिमपूर्ण हुन सक्छ भनेर संकेत गर्छ । सडक दुर्घटनामा मासिक भिन्नता महत्वपूर्ण नभए पनि डिसेम्बरदेखि फेब्रुअरी र जुनदेखि अगस्तसम्म सडक दुर्घटनाहरू बढी भएको पाइन्छ । जाडो मौसममा कुहिरोकोे कारणले गर्दा सडकमा कम भिजिबिलिटी भएको हुने र जुन तथा अगस्ट महिनामा वर्षा र पहिरोको कारण ट्राफिक दुर्घटनाहरूको संख्या र गम्भीरतालाई असर गरेको पाइन्छ ।
नेपालमा गरिएको अनुसन्धानले चालकको लापरवाही र तीव्र गतिलाई ट्राफिक दुर्घटनाको मुख्य कारण भएको देखाइएको छ । जसमध्य तीव्र गतिको कारण (५३ प्रतिशत), चालकको लापरबाही (२६ प्रतिशत), पैदल यात्रुको गल्ती (१२ प्रतिशत), ओभरटेकिङ (७ प्रतिशत) र सवारी साधनको यान्त्रिक समस्या (२ प्रतिशत) रहेका छन् । राजमार्गमा सडक खुला भएकाले चालकले सीमाभन्दा बढी गतिमा सवारी चलाउने गरेका छन् । राजमार्गको गति सीमा ६० किलोमिटर प्रतिघण्टा छ तर गति मापन गर्दा ८० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको पाइएको छ । त्यसैले अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइन्छ । ट्राफिक नियमको कडाईका साथ पालना गर्न सके दुर्घटना निकै कम हुन सक्छ ।
दुर्घटना हुने कारणहरू
चालकहरुको लापरबाहीबाहेक सडकको अवस्थाका कारण यो राजमार्गमा सडक दुर्घटनाहरू निम्न कारणले हुन सक्छन् । जसमाः
१. धेरै ठाडो चढाइँ, गिरावट र तीव्र मोडहरूको संयोजनले उच्च गतिमा चलाइएको सवारी साधनलाई नियन्त्रण गर्न चुनौतीपूर्ण कार्य हो । जसको कारण सवारीसाधन अनियन्त्रित भई दुर्घटना निम्तिएको पाइन्छ ।
२. अधिकांश सडकहरूको सतह कालोपत्रे भए पनि वर्षाको समयमा चिप्लो हुने, कतै सडकखण्ड भासिने वा पहिरो जाने हुन सक्छ, जसले दुर्घटना निम्त्याउँछ ।
३. अपर्याप्त साइनेजः अपर्याप्त चेतावनी चिह्नहरूले ड्राइभरलाई सडकको अवस्था वा तीव्र मोडहरूमा अचानक परिवर्तनहरूको लागि तयारी नगर्न सक्छ र दुर्घटना निम्त्याउँछ ।
४. गार्ड रेलको अभावः प्रयाप्त रेलिङको व्यवस्था नगरिँदा पनि घातक दुर्घटनाहरूको जोखिम बढाउँछ ।
५. निर्माणस्थलमा आवश्यक सुरक्षा सर्तकताका चिह्नहरु, बेरिकेसन, कोन तथा डोरीको घेराबन्दी, फ्ल्यागमेनको व्यवस्थापन, कामदारको व्यक्तिगत सुरक्षाका बन्दोवस्तीमा कमी आदिको कारणबाट पनि यस्ता घटना घटेका हुन सक्छन् ।
६. ओभरलोड भएका सवारीसाधनहरू धेरै चढाइले ओभरलोड सवारीसाधनमा अत्यधिक दबाब ल्याउन सक्छ । जसले गर्दा ब्रेक फेल हुने र नियन्त्रण गुम्ने गर्छ ।
७. चालकको थकान र अनुभवहीनताः पहाडी सडकहरूमा लामो यात्रा गर्दा चालकलाई थकान लाग्न सक्छ, र अनुभवहीन चालकहरूले भू–भागको जटिलताहरू ह्यान्डल गर्न नसक्दा दुर्घटना निम्तिएको पाइन्छ ।
८. मौसमी अवस्थाः वर्षा, कुहिरो र पहिरोले दृश्यता र सडक सुरक्षालाई ठूलो मात्रामा कम गर्न सक्छ, जसले गर्दा दुर्घटना दर बढ्छ ।
९.पशु क्रसिङः सडक पार गर्ने घरपालुवा वा वन्यजन्तुहरुले अप्रत्याशित खतराहरू निम्त्याउन सक्छन् ।
१०. कमजोर मर्मत सम्भारः नियमितरूपमा मर्मत नगरिएका सडकमा भएका खाल्डाहरूले पनि दुर्घटनाहरू निम्त्याउने प्रवल सम्भावना रहन्छ ।
निर्माणक्रममा हने सुरक्षा चुनौतीहरु
यो सडक निर्माणको क्रममा भइरहेको ट्राफिक नियमिततालाई भने केही प्रभावित पार्न सक्नेछ
१. निर्माणको क्रममा केही समय सवारी साधनहरु एकतर्फी वा दुवैतर्फ पनि रोक्न पर्ने अवस्था आउँछ जसले ट्राफिक जाम निम्त्याउन सक्छ । उच्च सवारी साधनको घनत्व भएका क्षेत्रहरूमा यसले लामो समयसम्म ढिलाइ र यात्राको समय बढाउन सक्छ ।
२. घुमाउरो र वैकल्पिक मार्गहरूः सडक निर्माणको क्रममा सवारी साधनहरुलाई घुमाउरो बाटोहरू प्रयोग गर्न आवश्यक पर्न सक्छ, जसले ट्राफिकलाई साना वा कम व्यवस्थित वैकल्पिक सडकहरू प्रयोग गर्न निर्देशित गर्न सकिन्छ । यी वैकल्पिक मार्गहरू बढ्दो ट्राफिकको मात्रा ह्यान्डल गर्न असमर्थ हुन सक्छन्, जसले थप भीडलाई निम्त्याउँन सक्दछ ।
३. सुरक्षा खतराहरूः निर्माणको क्रममा सवारीचालक र पैदल यात्रीहरूको लागि सुरक्षा चुनौती सिर्जना हुन सक्छ । सडकको लेआउट, निर्माण, निर्माण सवारी साधन र सडकका सवारीसाधन र काम गर्ने कामदारहरुको अन्तर्क्रियात्मक सम्बन्धलाई व्यवस्थापन गर्न सकिएन भने दुर्घटनाको जोखिम बढ्न सक्दछ।
४. सीमित पहुँचः सडकहरू निर्माणको क्रममा सवारी पूर्ण रूपमा बन्द हुन सक्छन्, स्थानीय व्यवसायहरू र आवासीय क्षेत्रहरूमा यसले प्रभावित समुदायहरूमा आर्थिक प्रभाव पार्न सक्छ ।
५. वातावरणीय प्रभावः निर्माण गतिविधिहरूले वातावरणीय समस्याहरु निम्त्याउन सक्छ, जस्तै धलो, धवा र स्थानीय पारिस्थितिक प्रणालीको अवरोध, जसले सडकहरू पहिरो वा भग्नावशेषले अवरुद्ध भएमा अप्रत्यक्ष रूपमा यातायातलाई असर गर्न सक्छ ।
६. नेपालमा एकै समयमा प्राय राजमार्गहरुमा निर्माण कार्य हने गरेकोले पनि विभिन्न ठाँउमा हने अवरोधको कारण सवारी समय लम्बिन सक्छ । जसको कारण सवारी चालकलाई दबाबले सवारी गति बढाउने मानसिक दबाब यात्रुहरुबाट आउने गर्छ । जसले ओभरटेक गर्ने प्रवृति बढ्रने र ट्राफिक जाम हने एवं दुर्घटनाको जोखिम बढ्ने गरेको पाइन्छ ।
समाधानका नियमित प्रयासहरु
यी मुद्दाहरूलाई सम्बोधन गर्नमा सामान्यतया सडक डिजाइन सुधार गर्ने, साइनेज बढाउने, ट्राफिक नियमहरू लागू गर्ने र सुरक्षित ड्राइभिङ अभ्यासहरू बारे चालकहरूलाई शिक्षित गर्ने कार्यको जरुरत पर्छ । जुन कार्यलाई स्तरोन्नतिको क्रममा सुधार गरिँदै आइएको देखिन्छ ।
माथि देखाइएका चुनौतीहरुलाई आत्मसाथ गरी निमार्णाधीन नागढुङ्गा–मुग्लिन सडकमा निम्न सुरक्षा उपायहरू अवलम्बन गरिएको पाइन्छ । विशेष सुरक्षा सुविधाहरू समावेश गर्दा चालक र यात्रुहरूको सुरक्षालाई उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ ।
१. सडक फराकिलो र सुदृढीकरणः चलिरहेको परियोजनाहरुमा समग्र संरचनात्मक सुधार गर्दै सडकका मोडहरु सुधार, चौडाइ फराकिलो पार्ने र उच्च चढाइलाई घटाउने गरिएको छ ।
२. पहिरो नियन्त्रण तथा वायोइन्जिनियरिङ विशेष गरी पहिरोको जोखिममा रहेका ठाउँहरूमा टेवा पर्खाल लगाउने र वायोइन्जिनियरिङ प्रविधिको उपयोग गरी पहिरो रोकथाम तथा नियन्त्रणको काम गरिएको छ ।
३. साइनेज र लाइटिंगः ड्राइभरहरूलाई गति सीमा, घुमाउरो, र सडक अवस्थाबारे सचेत गराउन परिष्कृत चिह्नको व्यवस्था गरिने छ ।
४. गार्ड रेलहरूः सडकबाट सवारी साधनहरू जानबाट जोगाउन ठाडो किनारहरू र पहिरोको जोखिममा रहेका ठाउँहरूमा बलियो गार्ड रेलहरू स्थापना गर्ने ।
५. रिफ्लेक्टिभ मार्करहरूः विशेषगरी रातको समयमा वा खराब मौसमको समयमा दृश्यता सुधार गर्न सडकको किनारमा रिफ्लेक्टिभ मार्करहरू राखिनेछ ।
६. उपयुक्त ड्रेनेज सिस्टमः सडकमा पानी जम्मा हुनबाट रोक्न प्रभावकारी ड्रेनेज प्रणालीहरू निर्माण गरिनेछ ।
७. गति नियन्त्रण उपायहरूः गति घटाउने क्षेत्रहरूमा स्पिड बम्पहरू वा रम्बल स्ट्रिपहरू राख्ने ।
८. नियमित मर्मतसम्भारः खाल्डाखल्डीहरु पर्ने, खसेको माटो तथा चट्टानहरू हटाउने र पुलपुलेसा, नाला र सडक संरचनाहरुको नियमित मर्मतसम्भार गर्ने ।
९. ट्राफिक व्यवस्थापनः निर्माण कार्यस्थलमा सुरक्षित ड्राइभिङ सुनिश्चित गर्न सवारी साधनको व्यवस्थित आगागमनको लागि साइनेज, फल्यागमेन, डाइर्भसन आदिको प्रबन्ध गर्ने ।
१०. जनचेतना अभियानहरूः सुरक्षित ड्राइभिङ अभ्यासहरू, विशेष गरी चालकहरूलाई शिक्षित गराउने उद्देश्यका अभियानहरू प्रवर्द्धन गर्ने ।
११. आपतकालीन सेवाहरू वृद्धिः दुर्घटनाको अवस्थामा तुरुन्त सहायता सुनिश्चित गर्न आपतकालीन सेवा तथा उद्दारको व्यवस्था गर्ने र सो को लागि विशेष समुहको व्यवस्था गर्ने ।
यी उपायहरूले सबै सडक प्रयोगकर्ताहरूको लागि सुरक्षा वृद्धि गर्ने र यस महत्वपूर्ण यातायात मार्गमा दुर्घटनाहरूको जोखिम कम गर्नेछ । यसैले समग्रमा, नेपालमा सडक पूर्वाधार र कनेक्टिभिटी सुधार गर्न सडक निर्माण अत्यावश्यक भए पनि ट्राफिक अवरोधहरू न्यूनीकरण गर्न र सबै सडक प्रयोगकर्ताहरूको लागि सुरक्षित र भरपर्दो यातायात प्रणालीको प्रत्याभूति दिन सबै सरोकार निकायहरुले सावधानीपूर्वक योजनाहरुको व्यवस्थापन गर्न अत्यन्तै आवश्यक छ ।
समयसँगै सुधारिएकोे सडक निर्माणले माथिका यावत अवरोध तथा बाधाहरुको समाधान गर्दै जानेछ र दीर्घकालीनरुपमा भरपर्दो, गुणस्तर र सुरक्षित ट्राफिक प्रवाहको प्रत्याभूति दिलाउने छ ।