

काठमाडौं । अदालतले आफूलाई तपस्वी बताउने रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाएको छ । बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला अदालतले सुनाएको छ ।
बम्जनविरुद्ध ०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दामा जिल्ला सकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडित परिवारलाई क्षतिपूर्तिको मागदाबी गर्दै अभियोग पत्र दायर गरेको थियो । उनलाई केही दिनअघि सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बम्जनलाई सजाय तोकेको हो । बम्जनलाई १० वर्ष कैद सजाय र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश आएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।