काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । विभिन्न विधेयक संसद्मा पेश गर्न स्वीकृति दिनेदेखि विभिन्न अनुदान स्वीकार गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ०८१–०८२, ०८५–०८६ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले धितोपत्रसम्बन्धी ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने ३८ करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । कैलालीको रानीजमरा रेल सिँचाइ आयोजनाका लागि कैलाली जिल्ला लम्कीचुहा नगरपालिकामा १०७ हेक्टर क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ।
तमोर करिडोर लिपिङ खोला जलविद्युत् आयोजना बुर्तिबाङ पौदी अमराही तम्घास गोरुसिंगे १३२ केभी प्रसारण लाइन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुपर घल्याम्दी जलविद्युत् आयोजनालाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको सञ्चारमन्त्री शर्माले बताइन् ।