काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा बिहीबारसम्म भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।