काठमाडौं । करिब दुई वर्षअघि पार्टी स्थापना हुँदा रास्वपाका धेरै नेतालाई लागेको थिएन होला कि यति छोटो समयमा नै पार्टीले राज्यको चौथो दलको हैसियत पाउँछ भन्ने । माहोल त उधुमै तरिकाले जोडिएको थियो । विशेषगरेर शहरी भेगका मान्छेहरुमा नयाँ पार्टी, घण्टी पार्टी जस्ता अनेक नामले पार्टीप्रति क्रेज बढिरहेको थियो । त्यसभन्दा अघि काठमाडौं, धरान र धनगढीमा जितेका स्वतन्त्रहरुले अर्काे छुट्टै माहोल खडा गरेको थियो । यसले पनि रास्वपालाई धेरैले विश्वास गर्ने सम्भावना थियो ।
चुनाव सकियो । चुनावअघिसम्म मुस्किलले राष्ट्रिय दल बन्छ कि ? भन्नेहरुलाई नै चकित पार्नेगरी रास्वपाले कमाल गरिदियो । २० सिटसहित संसद्को चौथो शक्ति बनेर उदाएपछि एकाएक रास्वपाप्रतिको आकर्षण बाढी जसरी बढ्न थाल्यो ।
चुनाव लगत्तै पार्टी पंक्ति एकातिर सरकारको लेखाजोखामा लाग्यो भने अर्काे पंक्ति पार्टीको संगठन विस्तारतिर लागे । संगठन बिस्तारको क्रममा जिल्लामा रास्वपाबाट पदाधिकारी बन्नका लागि हानाथाप हुन थाल्यो ।
यसरी बढेको पार्टीको क्रेज करिब दुई वर्षको समय पुग्दा नपुग्दै कम हुन थालेको छ । रवि लामिछानेको उत्तेजक भाषणबाट फ्यान भएकाहरुले सिर्जना गरेको माहोल पटकपटकको सत्ताका लागि गरेको सौदाबाजी र ठूला दलका नेताहरुसँगको साठगाँठले गर्दा पार्टीप्रतिको क्रेज घटेको कुरा एकातिर इलामको उपनिर्वाचनले देखाएको छ भने अर्काेतिर पार्टीकै महामन्त्रीको जिल्ला दौडाहपछि बनेको रिपोर्टमा पनि उल्लेख छ ।
त्यसो त पछिल्लो समय पार्टी छाड्ने चलनले पनि रास्वपप्रति कार्यकर्ताहरुकै क्रेज कम भएको भान दिने गरेको छ । केही दिन अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरे । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीबाट अलग भएको उल्लेख गरेका उनको मुख्य आरोप थियो आसन र भाषणमा मात्रै रमाउन मनले नमानेको बताएका छन् । उनले पार्टीले परिवर्तनको लहर ल्याउने आशा गरे पनि त्यो हुन नसकेपछि आफूले पार्टी छाडेको बताए ।
त्यस्तै, आइतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का मकवानपुरका सचिवसहित ६ जना नेताले पार्टी त्यागेका छन् । जिल्ला सचिवालय सचिव भुवन खनालसहित छ जनाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी त्यागेको घोषणा गरेका हुन् ।
खनाल, मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हैटौँडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङ, हटौँडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बाँस्तोला, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राईले पार्टी त्यागेका हुन् ।
यसरी अझै पनि छिट्टै करिब एक दर्जन जिल्लाका पदाधिकारीहरू पार्टी छाड्ने तयारीमा पुगेको सूचना आफूहरूलाई आएको रास्वपाका एक नेताले जानकारी दिएका छन् । यसमा सबैभन्दा मुख्य असन्तुष्टि भनेको नै नेतृत्वले केही पनि गर्न सकेन भन्ने रहेको बताइएको छ ।