काठमाडौं खबर असार १६, २०८१
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मुलुकमा विपद्जन्य घटना नियन्त्रणका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए पनि यसको डरलाग्दो तथ्यांक बाहिर आउन थालेको छ ।
शुक्रबार रातिदेखि शनिबारसम्मको २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको ज्यान गएको सरकारी तथ्यांकमा उल्लेख छ । सरकारी तथ्यांकमा नसमेटिएको संख्या झनै धेरै हुन सक्ने प्रक्षेपण गरिएको छ । जसमा तीन घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । तीन भाइ छोरा रोजगारीका लागि भारत गएको सो परिवारमा पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पतीको ज्यान गएको छ । त्यस्तै, स्याङ्जामा आमाछोरीको मृत्यु भएको छ ।
यस्तै, दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । ती घटनाहरुमा तीनजना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो । यस वर्षको मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाइसकेका छन् ।