काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार भारी वर्षाको सम्भावना देखाएको छ । देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो बदली रहे पनि साँझ पुनः हल्कादेखि मध्य वर्षा भए काठमाडौंमा भारी वर्षा मापन हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागका अनुसार आज वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।