काठमाडौं । छोटो समयमा नै प्रतिनिधिसभाको चौथो दल बनेको सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्व संकटको यात्रामा गएको छ । यो कुनै अन्य संस्थाको रिपोर्ट नभएर पार्टीकै महामन्त्री मुकुल ढकालको प्रतिवेदनले बोलेको तथ्य हो । पार्टीको निर्णय र निर्देशन बमोजिम करिब ३८ जिल्लाको भ्रमण गरेर केही दिनअघि मात्रै काठमाडौं फर्किएका महामन्त्री ढकालले पार्टीको लागि सुखद् खबर ल्याउन सकेनन् । उनले आफ्नो प्रतिवेदमा रास्वपाको उल्टो दिन सुरु भएको र यही गतिमा अघि बढे पार्टी विवेकशील साझाको अवस्थामा पुग्ने भन्दै नेतृत्वलाई सचेत गराए ।
उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष छ । प्रतिवेदनको अन्त्यमा डा। ढकालले भावुक सन्देश लेखेका छन् । आफ्नो महामन्त्री पदलाई दाउमा राखेर भए पनि सत्य बोल्ने आँट गरेको उनको भनाइ छ । डा। ढकालले प्रतिवेदनमा भनेका छन्, ‘जनताको प्रशासन सुधार हो । प्रदेश सरकार जनताको माग र चाहना केही पनि होइन । राजनीतिक दलका नेता(कार्यकर्ताको व्यवस्थापनभन्दा अर्को उपलब्धि प्रदेश सरकारबाट केही पनि भएको छैन । प्रदेश संरचनापछि प्रशासन सुधार होइन, झन् झन् अस्तव्यस्त बनिरहेको छ । तसर्थ प्रदेश खारेज गरी प्रशासन सुधारको एजेन्डा उठाउनुपर्छ ।’
पछिल्लो समय रास्वपाको माहोल खस्किएको कुरा पछिल्लो समय इलाममा भएको उपनिर्वाचनबाट पनि देखिएको छ । त्यहाँ रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत जफत भएपछि रास्वपाको जनमत खस्किएको विश्लेषण धेरैले गरेका थिए । त्यसलाई प्रमाण दिने र विश्वस्त गराउने काम महामन्त्रीको यो प्रतिवेदनले गरेको छ । यो प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक गर्न पनि डा. ढकालले सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।
३२ जिल्ला घुमेर ३२ दिनमा लेखिएको ३२ पेजको प्रतिवेदनमा उनले ३२ जिल्ला घुम्दा वर्तमान अवस्थामा पार्टीको जनतम नदेखिएको भन्दै यही अवस्थामा अहिले चुनाव हुने हो भने प्रत्यक्षमा एक–दुई सिटभन्दा धेरै जित्ने अवस्था नदेखिएको बताएका छन्।