काठमाडौं खबर असार १२, २०८१
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा अन्तिम समयमा आएर स्थगित भएको छ । अन्तिम समयमा नतिजा सार्वजनिक नगरी बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेर बैठक बसी नमुना अभ्यास समेत गरिएको थियो । तर नमुना अभ्यासको क्रममा केही प्राविधिक समस्या भएपछि बिहीबारको लागि स्थगित गरिएको छ ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
बोर्डले यस वर्ष सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याए एनजी उल्लेख गरिने जनाएको छ । एनजी भनेको माथिल्लो कक्षामा अध्ययन गर्न असमर्थ भन्ने हुन्छ ।