काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असारभित्रै महासमितिको प्रतिवेदन टुङ्ग्याएर विधान संशोधनको काम अघि बढ्ने दाबी गरेका छन् । मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले असारभित्र पार्टी केन्द्रीय समितिको बैठक बसी महासमितिका प्रतिवेदन टुङ्ग्याउने र विधान संशोधनको काम अघि बढ्ने बताएका हुन् ।
उनले यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्न नहुने भन्दै पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिए । २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लाग्न पनि सबै कार्यकर्तालाई उनले निर्देशन दिए । महामन्त्री थापाले एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी लाग्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
उनले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गरेका छन् । गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण गराउँदै महासङ्घको प्रथम महाधिवेशनले सबै भ्रातृ संस्थालाई महाधिवेशन गर्न सन्देश दिएको बताए ।