![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकको गृह मन्त्रालयको विषयमा उठेका प्रश्नको उत्तर दिनका लागि सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई समय दिएका थिए । यसअघि सय दिनमा बलियो मुटु भएका व्यक्तिले तीन वटा फाइल खोल्यो भने सबै नेताहरु जेलमा जाने भनेर चर्काे भाषण गरेका उनले गृह मन्त्रालय सम्हालेको १०० दिन पुगिसकेको छ । तर सय दिनसम्मको समयमा कुनै पनि उल्लेखनीय काम गर्न नसकेका उनीमाथि संसद्मा नै फाइल किन नखोलेको भन्दै प्रश्न उठेको थियो ।
त्यसको जवाफमा उनले सानातिना टुक्रे फाइल खोलेको देखाएर ठूला नेता समेटिएको मुद्दा भने अधिकारसम्पन्न आयोगमार्फत् अध्ययन गराउने तयारीमा रहेको भन्दै उधारो योजना सुनाए । गिरिबन्धु टि स्टेट लगायतको फाइल किन खुलेन ? भन्ने प्रश्नको उत्तरमा उनले ती फाइलमा उजुरी कुरेर बसेको भन्दै गोलमटोल जवाफ दिए । सर्वाेच्च अदालतले नै गलत भनिसकेको सो मुद्दामा उनले भने उजुरीको अभाव रहेको भन्दै पन्छिने जवाफ दिएका छन् ।
“नेपाल प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरीबन्धु टी–इस्टेटका बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अघि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ । र, केन्द्रीय अनुसन्धान ब्युरो गिरीबन्धु टी–इस्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ,” उनले भने, “कुनै पनि बेला भएका विभिन्न किसिमका यी घटनाहरूका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ ।”
त्यस्तै, यसअघि सुपुर्दगी सन्धि नभएका कारण मलेसियाबाट जीबी राई ल्याउन नसकेको भन्दै आएका लामिछानेले सोमबारको भाषणमा भने सुपुर्दगी नचाहिने भए पनि लोकेसन पत्ता लगाएर जीबीलाई नेपाल ल्याउने तयारीमा आफूहरु रहेको भन्दै पुरानै भाषण दोहोर्याए । “उनी फरार भएको आठ महिनापछि म मन्त्रालयको नेतृत्वमा आएको हुँ,” उनले भने, “आकासमा भए पनि पातालमा भए पनि पक्राउ गर्छौँ मैले नै भनेको हो । म आफ्नो भनाइमा मात्र होइन काम गराइमा पनि इमान्दार भएर लागि परेको छु ।” उनले दुबै देशका राज्यसंयन्त्र संवादमा रहेको जानकारी दिए । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मलेसिया सरकारले मागेबमोजिम कागजपत्र पठाउने काम भएको र जीबी राईको राहदानी खारेजीको प्रक्रिया अघि बढाउँदा राहदानी विभाग र अदालतले अवज्ञा गरिदिएको बताए । त्यस्तै, टीकापुरको फाइल खुलेको छ, काम भइरहेको साथै वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा रहेको पनि उनले सुनाए ।
यसरी उनले सुनाएका कुनै पनि फाइलमा ठूला नेताको संलग्नता नभएका फाइलहरु हुन् । सिंहको जस्तो दह्रो मुटु हुनुपर्छ भन्दै सत्तामा आएका उनी अहिले भने सत्ता पक्षीय नेताको नाम नजोडिएका सानासाना फाइल खोलेर त्यसैलाई आफ्नो प्रगति मान्दै बसेका छन् । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा जति समेत उपलब्धिपूर्ण काम नभएको उनको नेतृत्वको गृह मन्त्रालयले टुक्रे फाइल देखाएर जनता झुक्याउने प्रपञ्च भने अझैसम्म रच्दै आएका छन् ।