काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताए।
नन्दप्रसाद जानुका फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थ विमोचन समारोहमा महामन्त्री थापाले महासमिति बैठकले प्रस्ताव पारित गरिसकेकाले अब केन्द्रीय समितिबाट निर्णय गरी देश र समाजका लागि काम गरेका देशभरका पार्टी नेता तथा कार्यकर्ताको इतिहास सङ्कलन गरिने बताए । उनले यस कार्यले पार्टीभित्र शुद्धिकरणका लागि पनि काम गर्ने धारणा राखे । “समाजलाई डो¥याउनका लागि हाम्रा नेता तथा कार्यकर्ताले खेलेका भूमिका र उनीहरुको सम्मानका लागि पनि इतिहासको खोजी जरुरी छ । नेताले चुनाव जित्ने तर काम नगर्ने गरेकाले इतिहासले त्यसको पनि स्मरण गराउने छ”, महामन्त्री थापाले भने, “कांग्रेसभित्रको फोहर सफा गर्न पनि यसरी खोजिएको इतिहासले काम गर्नेछ, कांग्रेसमा सुधारको जग बसाल्न पनि यसको आवश्यकता छ ।”
जुन उद्देश्यका साथ पार्टी र राजनीतिमा आएको हो त्यही बिर्सदा पदमा टाँसिइरहने प्रवृत्ति बढेको भन्दै उहाँले पटकपटक सांसद, मन्त्री र प्रधानमन्त्री भइरहने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा पनि जोड दिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टी नन्दप्रसाद जस्ता व्यक्तित्वले गरेको योगदानको जगमा उभिएकाले त्यस्ता नेता, कार्यकर्ताको खोजी गरिनुपर्ने विचार राखे । खप्तडबाबा सुदूरपश्चिमको खप्तड क्षेत्रमा जानुअघि दोलखामा बसेर साधना गर्दा नन्दप्रसाद जस्ता व्यक्तित्वले उहाँबाट आध्यात्मिक वातावरण पाएका विषय पुस्तकमा उल्लेख गरिएका लेखकले बताए। त्यसको प्रभाव समग्र शिवाकोटी परिवारमा परेको आफूले पाएको पनि उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटी, कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला शिवाकोटी, कांग्रेस दोलखाका सभापति वर्मा लामा, साहित्यकार डा नवराज लम्साल, मानव अधिकारवादी नेता नूतन थपलिया, वरिष्ठ पत्रकार गोपाल थपलिया, क्षमावती माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शिवाकोटी, डा विष्णुराज उप्रेती र डा सुरेन्द्र सिटौलालगायतले नन्दप्रसादले दोलखाको शिक्षा, राजनीति एवं स्वतन्त्रताका क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरेका थिए ।