काठमाडौं । डिजाइन गरेर हल्ला गर्ने रवि लामिछानेको पुरानै बानी हो । डिजाइनले नै उनी आजसम्म भाग्यभानी सावित हुँदै आएका छन् । कहासम्म पुग्छन् त्यो भने हेर्न बाँकी छ । बुधबार रवि लामिछानेले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ ग्यालेक्सी फोर-के टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सिंगापुरमा समातिएको हल्ला भोलिपल्ट बिहानै (आज) चलाइयो । मलेसियामा बस्दै आएका उनी सिंगापुर पुगेको बेला उतै पक्राउ परेको भनियो ।
राई पक्राउ परेकोबारे औपचारिक रुपमा भने कसैले बताएनन् । उच्च सरकारी अधिकारीदेखि प्रहरीका हाकिमहरु नै समाचार सुनेर चकित भएको बताउँछन् । प्रहरी स्रोतले आफूहरुलाई यसबारे औपचारिक अनौपचारिक कुनै जानकारी नभएको बिहानै जानकारी दिएको थियो ।
पोखराको सूर्यदर्शनलगायत चितवन र काठमाडौंका सहकारी संस्थाबाट अर्बौं रुपैयाँ अपचलन गरेर भागेका राई पक्राउ परेको समाचारबाट निक्षेप डुबाएका सर्वसाधारण पनि झस्किए । जबकि उनीहरुले सहकारीमा जम्मा गरेको पैसा लगेर खोलिएको टेलिभिजन केही महिनादेखि बन्द छ । ग्यालेक्सी टेलिभिजन खोल्दा अध्यक्ष जीबी राई थिए भने हालका गृहमन्त्री रवि लामिछाने त्यसको हर्ताकर्ता अर्थात् प्रबन्ध निर्देशक ।