काठमाडौं । बिदेशी पर्यटक आउने मुख्य सिजन नहुँदा पनि सन् २०२४ को सुरुदेखि नै नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या यो वर्षको पहिलो महिनादेखि नै बढेको हो ।
यस वर्षको फेब्रुअरी महिनामै ९७ हजार ४२६ जना पर्यटक नेपाल आइपुगेका छन। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग (हवाई माध्यम) मार्फत नेपाल घुम्न आएका हुन् ।
नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्याको शीर्ष स्थानमा दक्षिण छिमेकी भारत छ । भारतबाट मात्रै यो दुई महिनामा ५० हजार पर्यटक नेपाल आएका छन् । भारतबाट धेरैजसो धार्मिक पर्यटक नेपाल भित्रने गर्छन् । उनीहरू नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथ लगायतका धार्मिकस्थलको दर्शन गर्ने लक्ष्यसहित आउँछन् । यस बाहके नेपालको पहाडी र हिमाली क्षेत्रले समेत भारतीय पर्यटकलाई लोभ्याउँदै आएको छ ।
यसपछि, १६हजार ४४७ जना पर्यटक चीनबाट आएका छन् । जनवरी र फेब्रुअरी महिनामा नेपाल भित्रने धेरै पर्यटकको सङ्ख्याको दोस्रो स्थानमा चिनियाँ छन् । तर, चीन र भारतबिचको पर्यटकको भिन्नता भने फराकिलो छ । यस्तै, धेरै पर्यटक भित्रिने मुलुकको सूचीको तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट यस अवधिमा १६ हजार १३६ जना पर्यटक भित्रिएका छन् ।
हालसम्मको अवधिमा चीन र अमेरिकाबाट भित्रने पर्यटकको सङ्ख्या उस्ताउस्तै छ । यसपछि थाइल्याण्डबाट दुई महिनाको अवधिमा ९ हजार ४१८ जना पर्यटक नेपाल भित्रिएका छन् । थाइल्याण्डबाट विशेष गरी नेपालको लुम्बिनी भ्रमणमा पर्यटक आउने गर्छन् । यस्तै, संयुक्त अधिराज्यबाट ८ हजार पर्यटक आउँदा बंगलादेशबाट ७ हजार ७०० पर्यटक नेपाल आएका छन् ।
अस्ट्रेलियाबाट ६ हजार, दक्षिण कोरियाबाट ३ हजार ८००, भुटानबाट २ हजार २२९, जापानबाट १ हजार ५६८ जना भित्रिएका छन् । यस्तै, म्यानमारबाट ३ हजार, जर्मनीबाट २ हजार ५०० जना पर्यटक घुम्नका लागि नेपाल आएका छन् ।