काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता हुन आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका अनुसार दर्ता प्रक्रियामा नआए बन्द हुन सक्ने चेतावनी दिएको छ ।
निर्देशिका अनुसार नेपालमा हालसम्म कुनै पनि कम्पनी दर्ता प्रक्रियामा आएका छैनन् ।
मन्त्रिपरिषद्को गत कार्तिक २३ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ स्वीकृत गरेको थियो । त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिका बमोजिम सामाजिक सञ्जाल कम्पनीहरूलाई तीन महिनाभित्र दर्ता हुन भनेको थियो । मसिंर १५ गते मन्त्रालयले जारी गरेको सूचना अनुसार फागुन १५ गते तीन महिना पूरा हुँदै छ । अर्थात्, मन्त्रालयले दिएको सीमा सात दिनमात्र बाँकी छ ।
तर, हालसम्म कुनै पनि सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताए ।