काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय गच्छेदारले उन्मुक्ति पाएका छन् । सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लगिएको यस प्रकरणमा त्यसबेलाका भौतिक योजना तथा निर्माणमन्त्री गच्छेदारले नीतिगत निणर्य गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । तर, विशेष अदालतले क्याविनेटको निणर्यमा मन्त्रीको एकल भूमिका नहुने तर्क गर्दै उनलाई सफाई दिएको हो ।
अख्तियारले १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छेदारसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना र कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी थियो।
न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा माघ २ देखि निरन्तर चलेको मुद्दाको सुनुवाइ मंगलबार सकिएको थियो । हिजो फैसला आउने भनिए पनि अन्तिम समयमा ’हेर्दाहेर्दै’ मा राखिएपछि कतिपयले चलखेलको आशंकासमेत गरेका थिए । फैसला ढिलाइमा थारु समुदायका गच्छदारलगायतलाई जोगाउन खोजिएको आशंकालाई बल पुग्नेगरी आज अदालतको फैसला आएको हो । यस प्रकरणमा प्रतिवादी बनाइएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले पनि सफाई पाएका छन् ।