![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । युवादेखि वृद्ध-वृद्धासम्मले कुनै न कुनै सामाजिक सञ्जाल चलाउने गर्छन् । सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दो छ । दुरुपयोग बढेकै कारण पछिल्लो समय सरकारले सामाजिक सञ्जाल ‘टिकटक’माथि प्रतिबन्ध लगाएको थियो ।
टिकटकमाथि प्रतिबन्ध लगाइए पनि नेपालमा बढी दुरुपयोग हुने सामाजिक सञ्जालको सूचीमा अन्यको नाम अग्रस्थानमा आउँछ । नेपाल प्रहरीका अनुसार पछिल्ला करिब सात महिनाको अवधिमा साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि माघ २३ गतेसम्मको अवधिमा ती निवेदन प्रहरीकोमा परेका हुन् । ती निवेदनमध्ये सामाजिक सञ्जालसँग सम्बन्धित ११ हजार ४२५ वटा रहेका छन् । सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधका उजुरी एक हजार ९०५ वटा छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई साइबर ब्युरोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने जस्ता प्रवृत्ति हाल देखिएको छ ।