काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न मुलुकमा मान्छे पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ घुस बुझने गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान दिएका छन् । पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि १ करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका छन् ।
काभ्रेको पाँचखाल-३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे । उक्त ट्राभल्सका कर्मचारी पदमले अध्यागमन अधिकृत नरवीरले मात्रै १ करोड रुपैयाँ बुझेको बताएका छन ।
‘हालसम्म अध्यागमन अधिकृत नरवीरको सेटिङमार्फत ३०० जनालाई विदेश पठाइएको छ । त्यसबापत नरवीरलाई सेटिङका लागि १ करोड बुझाइसकेका छौँ,’ पदमले बयानको क्रममा भनेका थिए । त्यसैगरी नरबीरले पुरुष र महिलाको छुट्टाछुट्टै दररेट तोकेर रकम लिने गरेको पनि पाइएको छ । ‘भिजिट भिसामा जाने व्यक्तिहरुको एयरपोर्टमा सेटिङ गरी मेरो भिनाजु मनोजले भनेअनुसार रकम दिने गरेको हो । अध्यागमन अधिकृत नरबीर खड्कालाई पुरुषका लागि प्रतिव्यक्ति १७ हजार र महिलाका लागि प्रतिव्यक्ति ५० हजारका दरले रकम दिने गरिएको थियो,’ उनले बयानमा भनेका छन् ।
नरबीरलाई मंसिर २६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ लाख रुपैयाँ घुस लिँदै गर्दा होटलबाटै पक्राउ गरेको थियो । उक्त रकम पनि निमा ट्राभल्सले नै दिएको थियो । ‘मंसिर २६ गते दिउँसो होटल वाल्टिनको काउन्टरमा १ जना महिला स्टाफलाई नरबीर खड्कालाई २ लाख दिनु भनि छाडेको थिए, सोही रकम २ लाख घुस बुझ्दै गर्दा खड्का पक्राउ परेका हुन’, पदमले खुलाएका छन् ।
यतिमात्रै होइन नरबीर खड्का ट्राभल्समा आफैँ गएर रकम समेत उठाउने गर्थे । मंसिर ४ गते मात्रै उनले निमा ट्राभल्समा गएर त्यसका सञ्चालक मनोजसँग ३ लाख ५० हजार रुपैयाँ बुझेको समेत अनुसन्धानबाट खुलेको छ ।
पदमले बयानमा समेत भनेका छन्, ‘नरबीर खड्का सर कहिले हाम्रो अफिसमा आएर र कहिले होटलमा रकम बुझ्ने गुर्नुहुन्थ्यो ।’ अध्यागमन अधिकृत नरबीर खड्का पक्राउ परेपछि यसमा संलग्न अन्य कर्मचारीहरुको संलग्नता पनि खुलेको थियो ।