‘मिटरब्याजविरुद्धको न्याय मार्च’ ब्यानरमा सुरु भएको र्याली न्याय माग्दै काठमाडौंका लागि अघि बढेको हो। सहभागीमध्येका एक थिए– महोत्तरीको औरही–१ की ५५ वर्षीया रामकली साह। मिटरब्याजीले भएभरको सम्पत्ति हड्पेपछि उनी अन्तिम विकल्पका लागि र्यालीमा सहभागी भएकी हुन्।
उनले ६ वर्षअघि गाउँकै छेवीलाल यादवसँग ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। गाउँको एक बिघा जग्गा छेवीलालको नाममा रजिस्ट्रेसन पास गरेर कर्जा लिइन्। जग्गा रजिस्ट्रेसनले मात्रै छेवीलाललाई पुगेन। उनले पास गराएकै जग्गामा बस्दै आएकी रामकलीसँग घरभाडाको कागजसमेत बनाए।
रामकलीले ऋण लिएको १ वर्षमा १ लाख ८० हजार रुपैयाँ साह (छेवीलाल) लाई बुझाइन्। जसको भर्पाइ छेवीलालले त्यतिबेलै गरिदिए। बाँकी पैसा पनि विस्तारै तिरेर सबै कर्जा चुक्ता गर्ने भनेर रामकलीले साहुसँग गुहार मागिन्। तर, छेवीलालले मानेनन्। पैसाका लागि बारम्बार ताकेता गर्न थाले। रामकली पैसाकै जोहोमा जुटिन। त्यहीबेला छेवीलालले रामकलीसँग पास गराएको जग्गाका सबै रूख बेचिदिए। चार सयभन्दा बढी सपेता र आँपका रूखको मूल्य थियो– ‘१० लाख रुपैयाँ।’ जुन कुरा साहु छेवीलाल स्वयंले स्विकारेका थिए।
रामकली भन्छिन्– ‘रूख नबेच्नुस्, महाजन ! म पैसा तिर्छु भनेको थिएँ। साहुले पैसाको खाँचो छ। सबै रूखको १० लाख भयो भनेर काट्यो। तर, पनि मेरो कर्जा चुक्ता भएन। ‘महाजन’ले उनीसँग अझै १ करोड २० लाख रुपैयाँ मागिरहेका छन्।’
रामकलीलाई घर छाड्न छेवीलालले दबाब दिइरहेका छन्। आफ्नो जग्गा फिर्ता गरिदिन आग्रह गर्दा उल्टै साहुले रामकलीमाथि कुटपिट गरेका थिए। कुटाइबाट उनको औंलाको हड्डी भाँचिएको थियो। ‘औंरीके हड्डी दोइर देलकै हौ बाबु (औंलाको हड्डी भाँचिदियो)। सारा सम्पत्ति लुटेर महाजनले हामीलाई घरवारविहीन बनाइदियो,’ छाती पिट्दै रामकलीले भनिन्– ‘बाँकी भनेको ज्यान छ। ज्यानलाई बाजी लगाएर सरकार गुहार गर्न काठमाडौं हिँडेको हौं।’