काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपविरुद्ध आन्दोलनको घोषणा गरेको छ । श्रमजीवी पत्रकार र कर्मचारीहरुको आन्दोलनलाई पार लगाउन कान्तिपुरसँग गोप्य सम्झौता गरेको आरोप खेप्दै आएको महासंघले नै फागुन २ गतेदेखि आन्दोलन गर्न लागेको बताइन्छ ।
आन्दोलनरत पक्षसँग छलफल र तिनका माग सम्बोधनका लागि एक साताको समयसीमा दिँदै महासंघले अटेर गरेमा थापाथलीस्थित कान्तिपुर मुख्यालयको परिसरभित्र अनिश्चितकालीन रिले अनसन बस्ने चेतावनी दिएको छ ।
कान्तिपुरले थप बेवास्ता गरेमा आमरण अनसन बस्ने महासंघले जनाएको छ । गत मंसिर १५ गते भएको सम्झौता कार्यान्वयनमा कान्तिपुरले तदारुकता नदेखाएपछि महासंघले आन्दोलन घोषणा गरेको हो ।
‘२०८० मंसिर १५ गते नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच भएको सम्झौताको कार्यान्वयनको विषयमा बैठकले समीक्षा गरेको छ । उक्त सम्झौताको बुँदा र भावना कार्यान्वयन गर्न कान्तिपुर व्यवस्थापनपक्ष पूर्णतः उदासिन भएको ठहर महासंघको छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघ र कान्तिपुरबीच सबै पत्रकार तथा कर्मचारीलाई विद्यमान कानुनी व्यवस्थाअनुसार पारिश्रमिकलगायत सेवासुविधा प्रदान गरिने, सरुवा, अवकाश, स्पष्टीकरण फिर्ता लिएर कार्यसम्पादनको वातावरण तयार गरिने, रोकिएको पारिश्रमिक यथाशीघ्र दिइने, केन्द्रीय र जिल्ला कार्यालयमा देखिएको श्रम समस्या प्रचलित कानुनबमोजिम समाधान गर्ने र महासंघद्वारा घोषित आन्दोलन स्थगित गर्ने सहमति भएको थियो ।
तर, कान्तिपुरले यसअघिको सहमति कार्यान्वयन नगरेपछि पत्रकार तथा कर्मचारीहरुले महासंघलाई दबाब दिएको श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदैव जैसीले बताए । उनले भने, ‘त्यतिबेला महासंघले हतारहतारमा उधारो सम्झौता गर्यो । कान्तिपुरले सम्झौता गरे पनि पुरानै रुप देखायो ।सम्झौता कार्यान्वयनमा नआएपछि पत्रकारहरुले विरोध जनाइरहे । महासंघविरुद्ध आन्दोलन थाल्ने चेतावनीपछि मात्र यो कदम चालिएको हो ।’