![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । नेपालले राजदूत नियुक्त गर्न लागेको झन्डै ९ दशक लामो अवधिमा नेपालको इतिहासमा एकपटक पूर्वप्रधानमन्त्री कोइराला राजदूत नियुक्त भएका छन्। दुईदुई पटकसम्म प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए।
दुईदुई पटक प्रधानमन्त्री भएर देशको शासनसत्ता चलाइसकेको व्यक्ति कुनै देशका राजदूत नियुक्त भए भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर ६ दशकअगाडि नेपालमा यस्तै भएको थियो। प्रधानमन्त्री भइसकेर पनि राजदूत नियुक्त हुने व्यक्ति हुन् मातृकाप्रसाद कोइराला ।
नेपालले पहिलोपटक सन् १९३४ मा मिनिस्टर (राजदूत) नियुक्त गर्न थालेको हो। त्यसअघि उत्तरी ल्हासा र दक्षिणी ब्रिटिस भारतमा नेपालको प्रतिनिधि रहने गर्दथे। नेपाल सरकारका ती प्रतिनिधिलाई वकिल भनिन्थ्यो। नेपाल-अंग्रेजबीच सुगौली सन्धिपछि अंग्रेज सरकारको स्थायी प्रतिनिधि रहँदै आएका थिए।
अहिले पनि नेपालमा पूर्वमन्त्रीहरू राजदूत नियुक्त हुन्छन्। पूर्वमन्त्री राजदूत नियुक्त हुँदा, निजामती सेवाको सबैभन्दा उपल्लो पदबाट सेवानिवृत्त भएर राजदूत नियुक्त हुँदा वा कोही व्यक्ति दोहोरिएर राजदूत हुँदा उनीहरूलाई मन्त्रीस्तरीय राजदूत भन्ने गरेको सुनिन्छ। आवासीय राजदूतलाई समेत मन्त्रीस्तरमा भनेर वर्गीकरण गर्ने चलन नेपालमा बाहेक सायदै अन्यत्र कतै होला!
नेपालबाट मन्त्रीस्तरीय राजदूत भएकाहरू सम्बन्धित मुलुकमा जाँदा त्यहाँ उनीहरूको स्तर नेपालले दिएको मन्त्रीस्तरीयको कुनै अर्थ हुँदैन। आतिथ्यता प्रदान गर्ने मुलुकका लागि भने उनीहरू राजदूत नै हुन्। राजदूत भनिने पद आफैँमा त्यति धेरै ओजस्वी छ कि त्यसमा थप विशेषण चाहिँदैन। तर नेपालको हकमा भने फगत आफ्नो प्रतिष्ठा र केही बढी सेवासुविधाका लागि राजदूतहरू आफूलाई मन्त्रीस्तरीय बनाउन मरिहत्ते गर्छन्। राजनीतिक कोटाबाट नियुक्त केही राजदूतहरू अहिले पनि मन्त्रीस्तरीय राजदूत होलान्। नेपालबाहेक सम्बन्धित मुलुकमा अर्थ नहुने मन्त्रीस्तरीयको कुनै औचित्य छैन।