काठमाडौँ । नेपालमा विभिन्न रोगबाट निधन भएकामध्ये ११ दशमलब ११ प्रतिशतको मृत्यु क्यान्सरबाट हुने गरेको छ । विश्व क्यान्सर दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको छ ।
मन्त्रालयले सन् २०२० को तथ्याङ्कअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको बताएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीका अनुसार फोक्सो र पाठेघरको मुखको क्यान्सरबाट निधन हुनेको संख्या सबैभन्दा बढी हुने गरेको छ ।
‘जनसंख्यामा आधारित क्यान्सर पीडितहरुको अभिलेखअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदरमध्ये ४० प्रतिशतभन्दा बढी फोक्सो र पाठेघरको मुखको क्यान्सरबाट हुने गर्दछ,’ उनले भने । मरासिनीले नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको जानकारी दिँदै भने, ‘सन् २०२० मा १६ हजार ६२९ जनाको क्यान्सरबाट मृत्यु भएको थियो ।’
नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्रा हुन् । उनका अनुसार पुरुषमा फोक्सो, आमाशय, मुख तथा मुखजन्य र अन्य क्यान्सर बढी देखिने गरेको छ ।
त्यस्तै, महिलामा पाठेघरको मुखको र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको मरासिनीले बताए । केही वर्षयता क्यान्सर विश्वभर मृत्युको प्रमुख कारण बनेको छ । विश्वको तथ्याङ्कअनुसार प्रत्येक छ जना रोगीमध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ ।