काठमाडौं । नेपाल सरकारले हेटौँडा कपडा उद्योग चलाउने जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ । काठमाडौं-तराई फास्टट्रयाक निर्माणको जिम्मा दिएर नेपाली सेनाले काम गर्न नसक्दा समय र खर्च बढ्दै गैरहेको बेलामा उद्योग चलाउने जिम्मा पनि सेनालाई दिइएको हो ।
५ वर्षमा सम्पन्न हुनुपर्ने फास्टट्रयाकको ट्रयाक खोल्ने काम ८ वर्षमा पनि नसकिने देखिएको छ । फास्टट्रयाकमा असफलझैँ भएको सेनालाई अब सरकारले २३ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा दिने तयारी गरेको हो ।
नेपाली सेनालाई उद्योग सञ्चालन गर्न दिने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले बुधवार उद्योग तथा अर्थ मन्त्रालयका मन्त्री तथा सचिवहरु एवम् अन्य सरोकारवालासँग छलफल राखेका छन् ।
नेपाली सेनालाई उद्योग सञ्चालन गर्न दिने तयारीस्वरुप बैठक राखिएको बताइएको छ । नेपाली सेनाको पोशाक आयातमा ठूलो रकम बाहिरिन्छ । त्यसो हुँदा सेनाले त्यही उद्योगमा उत्पादित कपडा पोशाकका रुपमा प्रयोग गरे उद्योग चल्न सक्छ भन्ने सरकारी सोचाइ रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।