काठमाडौं । आफ्नै कारणले सत्ताच्युत भएर प्रधानमन्त्रीबाट हट्न परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयमा डेब्यु गर्दै छन् । काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो। यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् ।
रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्। ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।