काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘फ्री भिसा र फ्री टिकट’ खारेजी गरेको छ। श्रम मन्त्रालयले दुई महिनाअघि नै यो सुविधा खारेजी गरेको भए पनि बाहिर ल्याएको छैन। उक्त सूचना बाहिर नआउँदा वैदेशिक रोजगारीमा जाने कामदार फ्री भिसा र फ्री टिकटका नाममा ठगि रहेका छन्। श्रम मन्त्रालयका उच्च अधिकारीअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावरले भने फ्री भिसा र फ्री टिकटको खारेज भएको सूचना पाइसकेका छन्। उनीहरूले खाडीका देश र मलेसिया जाने कामदारसँग अहिले एक लाखभन्दा बढी लागत खर्च उठाउन थालेका छन्।
श्रम मन्त्रालयकै केही उच्च अधिकारी र म्यानपावर बीच एक प्रकारको सेटिङको रुपमा यसलाई मन्त्रालयका अर्का अधिकारी बताए। उनका अनुुसार यो विषयलाई आख्यिार दुरुपयोग अनुसन्धान आयोगमा समेत जानकारी गराइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नै फ्री भिसा र फ्री टिकट खारेज भएको सूचना सार्वजनिक गर्न रोकेको उनको भनाइ छ।
श्रम मन्त्रालयका एक कर्मचारीका अनुसार दुई वर्ष अघि नै फ्री भिसा र फ्री टिकट खारेजका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो। त्यति बेला निर्वाचन मुखमा आएका कारण निणर्य नभएको उनको दाबी छ। श्रम मन्त्रालयले २०७२ साल असारदेखि वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जाने कामदारका हकमा निःशुल्कदर लागू गरेको थियो।
गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १३ वटा मुख्य रोजगारदाता देशका नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निणर्य गरेको थियो। त्यति बेला गरिएको निणर्यमा फ्री भिसा र फ्री टिकटको विकल्पमा म्यानपावर कम्पनीले एक लाख रुपैयाँ लागत खर्च लिने पाउने समेत निणर्य भएको श्रम मन्त्रालयले स्रोतले जनाएको छ।
फ्री भिसा र फ्री टिकट कार्यन्यवन भएपनि कामदारले यो सुविधा नपाएका कारण खारेजी गर्नुपर्ने आवाज बेला-बेला उठने गरेको थियो। फ्री भिसा र फ्री टिकटका नाममा ठगि र कर छली भइरहेका कारण यसको विकल्पका बारेमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताएका छन्।
उनका अनुसार फ्री भिसा र फ्री टिकट खारेजी भएको भन्ने चर्चा मात्र हो। अहिले छलफल मात्र भएका कारण खारेजी भन्ने मिल्दैन्। ‘फ्री भिसा र फ्री टिकटका नाममा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक ठगि र कर छली गर्दै आएको गुनासो आउने गरेको छ। यो विषयमा छलफल आवश्यक छ।’ उनले भने।
फ्री भिसा र फ्री टिकट लागू भएका देश जाने कामदारसँग एक लाख रुपैयाँसम्म लागत खर्च उठाउन विषयमा आफूलाई थाहा नभएको उनले जानकारी दिए। म्यानपावर व्यवसायीले पनि फ्री भिसा र फ्री टिकट खारेजी गर्नुपर्ने माग गदै आएका थिए। सरकार परिर्वतन भएपिच्छे श्रम मन्त्रालयको जिम्मा पाएको श्रम मन्त्री समेत फ्री भिसा र फ्री टिकट कार्यान्वयन गर्ने आश्वासन कामदारमा बाँड्दै आएका थिए।
फ्री भिसा र फ्री टिकट खारेज भएको विषयमा आफूलाई जानकारी नभएको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघनाथ भुर्तेलले बताएका छन्। फ्री भिसा र फ्री टिकटको विकल्प खोज्न म्यानपावर कम्पनीहरूले सरकारलाई आग्रह गर्दै आएको र २०७२ सालमा फ्री भिसा र फ्री टिकट अध्ययन नगरी लागू भएका कारण समस्या देखिएको उनले बताए।
साउदी, कतार, यूएई, बहराइन, ओमान, कुवेत, जोर्डन र मलेसिया जाने कामदारका हकमा आठ वर्षअघि फ्री भिसा र फ्री टिकट लागू भएको थियो। फ्री भिसा र फ्री टिकट लागू भएयता खाडीका देश र मलेसिया करिब ३२ लाख नेपाली विदेशीएको वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ।
फ्री भिसा र फ्री टिकट लागू भएको आठ वर्षमा करिब ३० अर्ब रुपैयाँ म्यानपावर कम्पनीले ठगि गरेको उजुरी परेको विभागले जनाएको छ। हाल वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया वार्षिक ४ लाखभन्दा बढी कामदार जाने गरेको विभागको तथ्यांकमा छ।
म्यानपावर कम्पनीले प्रत्येक कामदारसँग फ्री भिसा र फ्री टिकटकै नाममा ४० हजार रुपैयाँका दरले बढी रकम लिँदा पनि वार्षिक करिब ७ अर्बभन्दा बढी ठगि भइरहेको विभागका कर्मचारी बताउँछन्।
फ्री भिसा र फ्री टिकट लागू भएयता आठ वर्षको अवधिमा २२ हजार २ सय २७ जना कामदारसँग म्यानपावर र तीनैका प्रतिनिधि एजेन्टले ७ अर्ब २० करोड ७४ लाख ४७ हजार रुपैयाँ ठगि गरेको उजुरी परेको विभागको मुद्दा शाखाले जनाएको छ।
फ्री भिसा र फ्री टिकटमा वार्षिक रूपमा १५ हजार कामदार वैदेशिक रोजगारीमा जाने गरेको श्रम मन्त्रालयको अध्ययनमा भनिएको छ। रोजगारदाता कम्पनीले दिएको फ्री भिसा र फ्री टिकटमा श्रम कार्यालयका कर्मचारी र म्यानपावर सञ्चालक मिलेर पैसा कामदारसँग उठाउने गरेका छन्। भने कतिपय भिसामा म्यानपावर र कर्मचारीले आफना मान्छे पठाउने गरेका छन्।
सरकारले फ्री भिसा र फ्री टिकट (निःशुल्क दर) लागू गरेकै देश जाने कामदारसँग म्यानपावर कम्पनीलाई चर्को रकम तिरिरहेका रहेका छन्। यति मात्र होइन खाडीका देश र मलेसिया जाने कामदारले फ्री भिसा र फ्री टिकटको सुविधा आड वर्षसम्म सुविधा लिन नपाएको रोजगारविज्ञ मधुविशाल पण्डित बताउँछन्।
वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकट नाम मात्रको लागू भएको छ। निःशुल्कदर लागू भएका देश जाने कामदारसँग म्यानपावरले १ देखि ५ रुपैयाँ लागत खर्च उठाइरहेको कामदारले गुनासो गर्दै आएको उनले जानकारी दिए।
म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा वार्षिक ५ लाख कामदार खाडीका देश, मलेसिया, दक्षिण कोरिया,युरोपका र अफ्रीकाका केही देशमा पठाउने गरेका छन्। जसमा खाडी देश र मलेसिया जाने कामदारसँग म्यानपावरले १० हजारभन्दा बढी लागत खर्च लिन नपाउने व्यवस्था छ।
हाल, वैदेशिक रोजगारीमा १ हजार ५ सय जना नेपाली कामदार विभिन्न देश जाने गरेको विभागको तथ्यांकमा छ। वैदेशिक रोजगारीमा जानेमध्ये ९० प्रतिशत मलेसिया र खाडीकै देश जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ।
दक्षिण कोरिया र इजरायलबाहेक वैदेशिक रोजगारीमा नेपाली कामदार म्यानपावर कम्पनीले पठाउँछन्। कोरिया भाषा परीक्षा प्रणालीमार्फत सरकारले नै पठाउँदै आएको छ। हाल संस्था १ सय ११ र व्यक्तिगत १ सय ७८ वटा देश नेपालीलाई वैदेशिक रोजगारीमा अनुमति दिएको छ। युद्धका कारण इजरायल, रसिया र युक्रेनमा भने श्रम स्वीकृति बन्द गरिएको छ।हिमाल प्रेश