काठमाडौ । मिटर ब्याज पिडितले फेरि आन्दोलन थाल्ने भएका छन् । सम्पुर्ण किसान मजदुर एक होऔं ! वित्तीय शोषण र उत्पीडन विरुद्ध संघर्ष गरौँ !! भन्ने नाराकासाथ मिटर ब्याज पिडितहरुको पक्षमा आन्दोलन गर्दै आएको मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले हिजो बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आउने माघ १६ गतेदेखि सरकारका विरुद्धमा देशब्यापी आन्दोलन गर्ने बताएको छ ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष अबदेश कुसवाहले सरकारले पिडित किसान मजदुरको पक्षमा भन्दा साहु महाजन सुदखोरको पक्षमा काम गरीरहेको हुनाले पिडितले न्याय नपाएको र पिडितहरुले या त आत्महत्या गर्नुपर्ने या त सडकमा गएर भोकै बस्नुपर्ने अबस्था आएको बताए । उनले यो अबस्थाको अन्त्य गर्न जीवन मरणको लडाई लडनु पर्ने भएको, त्यसका लागि संघर्ष समिति तयार रहेको भन्दै वारपार आन्दोलनकोलागी देशभरका पिडितहरु लाग्नुपर्ने बताए ।
अध्यक्ष कुसवाहले संघर्ष समिति यो समस्याको सहि निकास र पिडितका पक्षमा जस्तो सुकै मूल्य चुकाउन तयार रहेको भन्दै त्यो वारपारको आन्दोलनकालागी सञ्चारकर्मीहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका थिए । कार्यक्रममा पत्रकार महासंघका सचिव गोबिन्द चौलागाईले पिडितहरुको बास्तविक अबस्थाले आफु गम्भीर बनेको र यसका लागि आफुले सकेको सहयोग गर्न तयार रहेको बताएका थिए । उनले यो बिषयले नेपालका कानूनी शासनको धज्जी उडाएको र यसमा सरकार गम्भीर हुनुपर्ने पनि बताएका थिए ।
कार्यक्रममा बितरण गरीएको प्रेस विज्ञप्ती भनिएको छ, मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समिति, नेपालले आन्दोलन थालेको प्रारम्भिक महिनामा नेपाल सरकार केही गम्भीर भई मिटरब्याज, वित्तीय शोषण, ठगी र अन्य अनुचित लेनदेनलाई सरकारले “आर्थिक अपराध” ठहर गर्यो । सो समस्या समाधान गर्न ठोस कानुन नभएकोले नयाँ कानुन मस्यौदा गर्ने कार्य थाल्यो । वर्तमान गठबन्धन सरकार बनेसँगै सरकारमा संवेदनशीलता र परिपक्वता कम तर पृष्ठभूमिमा भइरहेको कामबाट जस लिने हतारो बढी देखियो । त्यसैले सरकारले समस्याको जरो समातेर त्यसलाई निर्मूल पार्नेभन्दा लोकरिझाइँको लागि बढी र न्यायको पक्षमा कम काम गर्यो ।