– वासुदेव अधिकारी
पहिलेभन्दा अचेल सहर–नगर घनत्वयुक्त हुँदैछन् । गाउँ रित्तिदो छ, सहर भरिँदो । सहरमध्ये पनि एउटा सहर रित्तिँदै अर्को सहर भरिँदो छ । भरिएको नगरमा धेरै मानव, धेरै खालका मानवीय व्यवहारको समागम हुँदा जसको व्यवस्थापन चुनौतपूर्ण बन्दै गएको छ ।
नगर व्यवस्थापन जटिल मानवीय व्यवस्थापन हो । यो स्थानीय सरकार तथा जनताबीचको जीवन्त सम्बन्ध र सहकार्यको प्रतिबिम्बन पनि हो । नगर व्यवस्थापनमा त्यहाँको आय, योजना, सङ्कल्प, पूर्वाधार, नगरबासीको संस्कार तथा अनुशासन, स्थानीय तथा केन्द्रीय सरकारको सहकार्यलगायतका विषय प्रकटित हुन्छन् ।प्रभावकारी नगर व्यवस्थापनका लागि नगरको आफ्नो मौलिकता वा विशिष्टताको पहिचान, स्रोत परिचालन र नगरबासीसँगको हातेमालो महत्पूर्ण विषय रहिआएको छ ।
विगत केही समयदेखि नेपालभित्र र बाहिरका सहर भ्रमण तथा अवलोकन गर्दा तिनको पूर्वाधार, हरियाली तथा सरसफाइ, त्यहाँका बासिन्दाको औसत व्यवहार, व्यावसायिक वातावरण, सर्वसाधारणको जीवन गुजाराका लागि गरिने प्रवन्ध आदिमा मेरो ध्यान आकृष्ट भइरहेको छ ।
सफा सुग्घर, व्यवस्थित र मानवीय मूल्यसहितको नगर व्यवस्थापनले प्रभावित बनाइरहन्छ । एक नागरिकको नाताले म नगर व्यवस्थापनमा न्यूनतम पनि निम्न विषय सम्बोधन हुन आवश्यक देख्दछु ।
एक– सुरक्षा तथा ऊर्जा उपलब्धता
सुरक्षा मानवीय जीवनको प्रमुख पक्ष हो । व्यक्तिको बसोबास जति सुन्दर ठाउँमा भए पनि, जति वैभवशाली देखिए पनि सुरक्षाको प्रत्याभूति नहुँदा नागरिक मन त्रासयुक्त बनिरहन्छ । सुरक्षाको प्रत्याभूतिले बासिन्दा नागरिक तथा आगन्तुक सबैको आत्मबल बढ्छ ।
उच्च आत्मबलयुक्त नागरिकले नै उत्पादकत्व अभिवृद्धि गरी आफ्नो मुलुक तथा नगर/गाउँमा योगदान गर्न सक्छ । त्रासयुक्त वातावरणमा सम्साँझै घरमा गई बस्नु पर्दा व्यक्तिको उत्पादकत्व बढ्न सक्तैन । सुरक्षाको हाराहारीमा ऊर्जा अर्को अत्यावश्यक वस्तु हो, जसले नगरबासीको जीवनको यावत् पक्षलाई सहजता प्रदान गर्दछ । यसको निम्ति स्थानीय सरकार र केन्द्रीय सरकारको हातेमालो अत्यावश्यक छ ।
दुई– पूर्वाधार तथा मर्मत सम्भार
पूर्वाधार नागरी जीवनको परिचय हो । उल्लेख्य स्रोत साधनविना सहरी पूर्वाधार तयार हुन सम्भव छैन । नगर विकास तथा व्यवस्थापनको सन्दर्भमा सामान्यतया आवश्यताको आधारमा परियोजनाको प्राथमिकीकरण गरी सीमित स्रोत साधनको प्रभावकारी परिचालनमार्फत् नै पूर्वाधार विकास गर्ने गरिन्छ ।
त्यस पूर्वाधारलाई समयमा मर्मत सम्भार नगरे नागरिक जीवन जोखिममा पर्नुका साथै मानवीय, वित्तीय वा वातावरणीय क्षति पनि हुन जान्छ । तसर्थ, पूर्वाधार निर्माणको साथसाथै आफैँ वा तेस्रोपक्षलाई आवद्ध गरी समयमै निर्मित पूर्वाधारको मर्मतसम्भार गर्नसके सहरको सुन्दरता तथा गुणात्मकता कायम रहनसक्छ।नगर व्यस्थापन मामर्मत सम्भारको निन्तरता संस्कारकै रूपमा अवलम्वन गर्न आवश्यकछ ।
तीन– सार्वजनिक यातायात
सार्वजनिक यातायात व्यवस्थित नभई नगर जीवन सरल तथा सहज हुनै सक्दैन । नेपालको सार्वजनिक यातायातमा सरकारले हात झिकिसकेको छ । निजी क्षेत्रले मनग्य लगानी गरेको र त्यो लगानी निकै नै छरिएको स्तरमा रहेको सन्दर्भमा यसको व्यवस्थापन चुनौतीयुक्त छ ।
नगर व्यवस्थापनको सन्दर्भमा निजी सवारी साधनभन्दा सार्वजनिक सवारी साधनको उपयोग बढाउने, त्यस्ता सेवा प्रदायकको लगानीलाई जोखिममा पर्न नदिने, संस्थागत रूपमा सञ्चालित यातायातको भाडा भरौटको भुक्तानीलाई प्रविधिसँग जोड्ने कामले स्मार्ट नगरको छनक दिन्छ ।
मिटर जडान भएर पनि मिटरमा जान नमान्ने सवारी व्यवस्थापनले हाम्रो सार्वजनिक क्षेत्रका सेवासम्बन्धी व्यवस्थापन योग्यतालाई गिज्याइरहेको छ । यस सन्दर्भमा स्थानीय सरकार, नियमक निकाय र सेवा प्रदायक व्यवसायी वा व्यावसायिक संस्थाको बीचमा नियमित र गहिरो सहकार्य आवश्यक छ ।
सार्वजनिक यातायात क्षेत्रको कुशल व्यवस्थापनले नगर व्यवस्थापनमा गुणात्मक भिन्नता ल्याउन सक्छ । यसबाट नगबासीहरूको समय तथा साधन उल्लेखनीय वचत हुन गई उत्पादकत्व बढ्न जान्छ ।
चार– फोहर व्यवस्थापन तथा हरितता प्रवर्धन
नगरको सुन्दरता र नगरबासीको स्वास्थ्य त्यहाँको सरसफाईं, फोहोर व्यवस्थापन र हरिततासँग जोडिने गर्छ । फोहोरको कुशल व्यवस्थापन, सरसफाइमा नगरपालिकालाई साथ सहयोग दिने नगरवासी नै सफा नगरका संवाहक हुन् । स्थान र अवस्था हेरी हरियाली प्रवद्र्धन गरेर सफापन र हरियालीलाई नगर सभ्यताको अभिन्न अङ्ग बनाउन अत्यावश्यक नै देखिन्छ ।
कामचलाउ ढाँचाको जीवनशैलीमा बाँचेका हामीलाई यो कार्य गर्न त्यति सहज नभए पनि सही योजना, कुशल व्यवस्थापन, सरसफाइ तथा हरितता प्रवद्र्धनसम्बन्धी नागरिक सचेतता, उक्त कार्यक्रम कार्यान्वयनका क्रममा उत्प्रेरणा तथा दण्ड व्यवस्था अत्यावश्यक हुन जान्छ । यसतर्फ स्थानीय सरकार थप सजग हुन आवश्यक छ । यो नागरिक स्वास्थ्य सम्बद्र्धन गर्ने अचूक अस्त्र हो ।
पाँच– सार्वजनिक स्थल व्यवस्थापन
बढी जनघनत्वका कारण निस्सासिने नगरमा सार्वजनिकस्थलको महत्व अपरीमित नै छ । सीमित सार्वजनिक स्थलको कुशल र विभेदरहित उपयोग नगर व्यवस्थापनको चुनौती हो । यसको सही व्यवस्थापनले नगरबासीको शारीरिक तथा मानसिक स्वस्थ्य सवल हुनुका साथै सामाजिक हार्दिकता, वातावरणीय स्वच्छता कायम गर्न मद्दत पुग्छ ।
धार्मिक, सांस्कृतिक लगायतका पर्यटन स्थलसहित उपलब्ध सार्वजनिक स्थलको उपयोग सबै उमेर र वर्गका नगरबासीले गर्ने वातावरण बनाउनुको विकल्प छैन । अधिकांश सार्वजनिक स्थलहरू विपद् व्यवस्थापनका वैकल्पिक स्थान समेत भएकाले यसलाई बन्द होइन खुला, फोहोर होइन सुग्घर, सीमित टाठाबाठा र खेलकूदमा लाग्ने युवाले मात्र होइन, सबै उमेर र वर्गका व्यक्तिले उपयोग गर्ने खालको बनाउनुपर्छ र सकिन्छ । यसका पूर्वाधार र उपकरण पनि सोही बमोजिमको हुन आवश्यक छ ।
छ– वस्तु तथा सेवाको गुणस्तर
नगर व्यवसायको केन्द्र हो । यसमा वस्तु तथा सेवाको ठूलो मात्रामा खरिद–बिक्री हुने गर्छ । वस्तु तथा सेवाका खरिदकर्ता आम नागरिक हुन् । आमनागरिकको जीवनशैलीसँग जोडिएको वस्तु तथा सेवाको मूल्य तथा गुणात्मकता आमचासोका विषय पनि हुन् । वस्तुको उत्पादन, भण्डारण, वितरण र उपयोगमा कायम हुनुपर्ने गुणात्मकताले नागरिक जीवनमा धेरै महत्व राख्छ । त्यसरी नै सेवाको मूल्य, समय तथा प्रभावकारितालाई पनि त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।
नागरिकले उपयोग वा उपभोग गर्ने बस्तु तथा सेवाको गुणस्तर कसले र कसरी कायम गर्ने ? यो प्रश्नलाई मानवीय मूल्य तथा व्यावसायिक नैतिकताको दृष्टिबाट हेरिनु र हल गर्नु आवश्यक छ ।
यस सन्दर्भमा आवश्यक कानुनी व्यवस्था, यथोचित अनुगमन र पुरस्कार–दण्डकोव्यवस्थाअनिवार्यछ।अन्यथा आम जनता नाफाखोरबाट कोपभाजनका शिकार बन्ने अवस्था रहिरहन्छ।नगरबासीसँग निकटस्थ स्थानीय सरकारमा यसतर्फको सजगता र संवेदनशीलता सदैव अपेक्षित छ।
सात– सामुदायिक सेवा
जनता सामान्तया उन्मुक्त तवरले बाँच्न चाहन्छन्, आफैँ गरिखान चाहन्छन् । तिनले राज्यको नियममा बाँधिई अनेक नागरिक जिम्मेवारी पूरा गर्नुपर्ने पनि हुन्छ । अनेक जात जाति, धर्म, संस्कृति, पेशा वा व्यसायमा आवद्ध नागरिक सहरमा कसरी एकात्म भई रहने ? तिनको बीचमा हार्दिकता कसरी विकास गर्ने, तिनको समस्या र चासोलाई कसरी सम्बोधन गर्ने ? यस्ता सवालमा नगर व्यवस्थापनले यथोचित नीति, नियम, संयन्त्र र सेवा प्रवाहको प्रबन्ध गर्न आवश्यक छ ।
प्रभावकारी सामुदायिक सेवाको अभावमा नगरका जनता र राज्यको दुरी बढ्न जान्छ । प्रभावकारी सामुदायिक सेवाको आप्रवाहमार्फत् नै नगरबासीका समस्या र चासोको यथोचित सम्बोधन हुन सक्छ र उनीहरू सभ्य नगर निर्माणको साझेदार बन्न सक्छन् ।
तसर्थ, नगर व्यवस्थापनले स्वास्थ्य, शिक्षा, संस्कृतिलगायतका अत्यावश्यक क्षेत्र र सामुदायिक सेवालाई प्रभावकारी ढंगले जोड्नुपर्छ र सकिन्छ । आफ्नो नगरका वस्ती, व्यक्ति तथा संस्कृतिको यावत् सूचना प्राप्त गरी तीमध्येको अत्यावश्यक पक्ष वा वर्गलाई यथोचित रूपमा सघाउने संस्कृतिको विकास गर्नु नगर व्यवस्थापनको
आठ– सूचना प्रविधि तथा सुलभ शौचालय
अबको समाज सूचना प्रविधिको उपयोगविना अघि बढ्न सक्दैन । नगर व्यवस्थापनको धेरै पक्षः जस्तै, आय, व्यय, नागरिक वा समुदाय सहयोग, व्यावसायिक भुक्तानी प्रणाली, अन्य सेवा आप्रवाह, सूचना प्रसारण आदिको सन्दर्भमा सूचना प्रविधि उपयोग गरी नागरिक जीवन सरल सहज बनाउन सकिन्छ ।
त्यस्तै, सामान्य जस्ता लाग्ने शौचालय उपयोग मानव जीवनको अभिन्न पक्ष हो । यसको महत्वमा घर–घरमा त छँदैछ, सामुदायिकस्तरमा पनि त्यत्तिकै छ । व्यवस्थित शौचालय सभ्य समाजको परिचायक पनि हो । काम वा अन्य प्रयोजनमा घर बाहिर निस्किने नगरबासी वा अनेक प्रयोजनमा नगर आइपुगेका व्यक्तिलाई ठाउँ–ठाउँमा सुलभ र व्यवस्थित शौचालय सञ्चालन हुन आवश्यक छ । यसले नागरिकको जीवनलाई सहज बनाउन मद्दत पुर्याउँछ ।
नौ– सुुलभ ब्रान्डका पसल
सबै नागरिक सम्पन्न हुँदैनन् । नगरको घना वस्तीमा सामान्य आर्थिक हैसियतका नागरिकको बाहुल्यता छ । विद्यार्थी, अल्पकालीन बसाईं भएका व्यक्ति तथा सामान्य आय भएका नगरबासीलाई महङ्गा घरायसी सामानको मूल्य बोझ बन्छ ।
त्यस्ता प्रकृतिका पेचिलो सवाल सम्बोधन गर्न स्थानीय सरकारले सुलभ ब्राण्डका पसल सञ्चालन गर्न आव्हान गरी त्यस्ता व्यवसायीलाई केही छुट सुविधा दिने नीति अख्तियार गर्न सके सामान्य नागरिकको जीवन सहज बन्छ । यसबाट नगर धनीहरू मात्र बस्ने थलो होइन भन्ने भाष्य निर्माण हुँदै पनि जान्छ । कोरियाका टोल वस्ती वा नगरहरूमा सञ्चालित नेरु ५०० सम्मका सामानहरू पाइने जापानी सुलभ स्टोर ‘डाइसो’ यसको ज्वलन्त दृटान्त हो ।-बाह्रखरी