राजनीति नै व्यावसायिक बन्दै गएको जनगुनासो बढ्दै गएको बेला संविधान सभा सदस्य शान्ता चौधरी भने अचार व्यवसायमा सक्रिय हुनुहुन्छ। नेकपा (एमाले)की नेत्री शान्ता चौधरीले २२ प्रकारका अचार बनाउँदै आएकी छिन् । दैनिक खसी र कुखुराको मासुको अचार बढी माग हुने गरेको चौधरीले बताइन् । उनले दैनिक १० केजी खसी र कुखुराको मासु बिक्री गर्दै आएकी छिन् ।
उनका अनुसार खसीको अचार चार हजार सात सय प्रति केजी र कुखुराको मासुको अचार तीन हजार प्रति केजी बिक्री भइरहेको छ। चौधरीले डल्ले खुर्सानी, लप्सी, अमला, खुर्सानी, लसुन, तामा, मुलाको अचार बढी माग हुने गरेको बताउनुभयो। घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाँडागाउँमा सञ्चालनमा आएको अचार उद्योगको कूल पुँजी २० लाख रहेको छ।
उनले घरेलु तथा साना उद्योग कार्यालयबाट अचार उत्पादन तथा बिक्री वितरणका लागि शान्ता अचार उद्योग दर्ता गरेकी छिन् भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र समेत प्राप्त गरेकी छिन्।
उनले जिल्लाका विभिन्न ठाउँमा आयोजना गर्न थालिएका मेला महोत्सवमा अचारको स्टल राख्ने तयारी भइरहेको बताइन् । चौधरीले भनिन् , ‘‘राजनीति नै व्यवसाय हो भन्ने धारणा बदल्नैका लागि र कार्यकर्तालाई उत्पादनमा जोड्नका लागि नेतृत्वबाटै उत्पादनमा लाग्नुपर्छ भन्ने उत्प्रेरणाका लागि अचार उद्योग सञ्चालनमा ल्याएको हुँ।’’
अहिलेसम्म अचार उद्योगका लागि थप जनशक्ति आवश्यक नपरेको चौधरीले बताइन् । २०६४ सालमा नेकपा (एमाले)ले पूर्व कमलहरी समेत रहेकी शान्ता चौधरीलाई संविधान सभा सदस्य बनाएको थियो भने २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन र २०७९ सालको प्रतिनिधि सभा सदस्यको पराजय व्यहोर्नु भएको थियो। त्यस्तै २०७४ सालको प्रतिनिधि सभा सदस्यमा हुँदै नेकपा (एमाले) संसदीय दलको सचेतक भएकी थिइन् ।