- डा श्वेता नकर्मी
काठमाडौं । बाथ कुनै एक मात्रै रोग नभई विभिन्न प्रकारका रोगहरुको संकलन हो। यसमा १०० भन्दा बढी प्रकारका बाथ समेटिन्छन्। अटोइम्युनिटीको कारणले गठियाँ, मेरुदण्डको बाथ, लुपस जस्ता बाथ रोगहरु हुने गर्छन्। अटोइम्युनिटी भन्नाले मानव शरीरमा रोग प्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ। जसका कारण बाथ रोग देखा पर्छ।
उमेर ढल्कँदै जाँदा हड्डी खिइने र त्यसका कारण ओस्टियो आरथाइटिस नामक बाथ रोग लाग्न सक्छ। घुँडाको कुरकुरे हड्डी खिइने बाथ, मेरुदण्डको हड्डी खिइने बाथ पनि उमेर ढल्कँदै जाँदा लाग्ने गर्छ। कतिपय बाथ रोगहरु खानपानसँग सम्बन्धित रहेका छन्। जस्तैः युरिक एसिडको बाथ रोग। कतिपय बाथरोग इन्फेक्सनपछि देखा पर्छन्। त्यसैले बाथ कुनै एक प्रकारको रोग मात्रै नभई विभिन्न प्रकारका रोगहरुको संकलन हो।
बाथ रोग किन हुन्छ?
बाथ रोग विभिन्न प्रकारका हुने भएकोले पनि यसका कारणहरु पनि भिन्नाभिन्नै हुन्छन्। बाथ रोग लाग्ने विभिन्न कारणमध्ये मानव शरीरमा प्रतिरोधी क्षमतामा गडबडी हुँदा लाग्ने बाथ रोग एक हो। शरीरमा विभिन्न प्रकारका इन्फेक्सनको कारणले रोग प्रतिरोधी क्षमतामा गडबडी आउने गर्छ। जीवाणुसँग लड्ने कोषिकाहरुले शरीरका विभिन्न अंगहरुमा असर गर्छ। जस्तैः गठिया, लुपस, मेरुदण्डको बाथ अटोइम्युनका कारण लाग्ने गर्छ।
कुनैकुनै बाथ इन्फेक्सन पछाडि हुने गर्छ। जस्तैः पिसाबको इन्फेक्सन, आन्द्राको इन्फेक्सन, डेंगु जस्ता इन्फेक्सनपश्चात् पनि कतिपयलाई बाथ रोग लाग्न सक्छ। बाथ रोग हुने कतिपय कारण भने अझैसम्म पत्ता लाग्न सकेको छैन।
बाथ रोग भएको बिरामीले कसरी थाहा पाउने ?
बाथ रोग धेरै प्रकारका हुने भएकोले यसका लक्षण भिन्नाभिन्नै हुन्छन्। बाथको प्रकार अनुसार यसले विभिन्न अंगहरु समात्छ। बाथ रोगको साझा लक्षण जोर्नी दुखाइ हो। हात–गोडाका साना–तिना जोर्नीहरु दुख्ने, सुतेर उठ्दा मुठ्ठी कस्न ग्राहो भएजस्तो हुने, सुन्निने जस्ता समस्या बाथ रोगका प्रारम्भिक लक्षणमा पर्छन्। यदि छालामा बाथ रोग भएको अवस्थामा अनुहार तथा छालामा डाबर आउने, घामको एलर्जी हुने, मुख तथा गोडामा बारम्बार घाउ आउने जस्ता लक्षण देखिन्छन्।
आँखा रातो हुने तथा बारम्बार दुख्ने, सुख्खा हुने तथा आँसु नआउने समस्या हुने जस्ता लक्षण देखिएमा पनि बाथ रोग भएको शंका गर्न सकिन्छ। यदि बाथले भित्री अंगलाई आक्रमण गरेको अवस्थामा भिन्नै प्रकारको लक्षण देखा पर्न सक्छ। फोक्सोमा जाली परेको अवस्थामा स्वाँ–स्वाँ बढ्ने, खोकी लाग्ने, दम बढ्ने, मुटुमा पानी जमेमा मुटुको ढुकढुकी बढ्ने, रक्तचाप बढ्ने, मिर्गौलाबाट प्रोटिन जान थालेको अवस्थामा मिर्गाैलामा समस्या आउने, गोडाहरु सुन्निने हुन सक्छ।
बाथका कारण आउन सक्ने अन्य शारीरिक जटिलता
बाथ रोगलाई समयमा नै नियन्त्रण गर्न नसकिएको अवस्थामा देखिने साझा समस्या भनेको जोर्नी बांगिनु हो। मेरुदण्डको बाथमा विस्तारै मेरुदण्ड कुप्रिँदै जाने, हिप तथा घुँडाले काम नगर्ने, जोर्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने, अझै जटिल हुँदै जाँदा खुट्टा नै काट्नुपर्ने अवस्था समेत आउने गर्छ। बाथ रोगका कारण मिर्गौलामा असर गरेको अवस्थामा मिर्गौला फेल हुन सक्छ।
मुटु तथा फोक्सोमा बाथ रोगले असर गरेको अवस्था तथा समयमै उपचार हुन नसकेमा मुटु तथा फोक्सोको प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आउन सक्छ। यदि मस्तिष्कमा आक्रमण गरेमा पक्षघातको सम्भावना हुन सक्छ। अझै बाथ रोगको उपचार हुन नसकेको अवस्थामा मान्छेको ज्यानै समेत जान सक्ने अवस्था हुन सक्छ।
जाडो याममा बाथ रोग बढ्छ ?
जाडो याममा बाथ रोगका लक्षणहरु बढ्न सक्छन्। चिसो वातावरण तथा चिसो पानीका कारण जोर्नी तथा मांसपेसको दुखाइ बढ्दै जान्छ।
बाथका बिरामीले कस्तो जीवनशैली अपनाउने ?
बाथ रोग भन्ने बित्तिकै खानपानसँग सम्बन्धित रोग हो भन्ने आम धारणा छ। यद्यपि, युरिक एसिडको बाथ रोग मात्रै खानपानसँग सम्बन्धित छ। युरिक एसिडको बाथ रोग भएकाहरुले रक्सी, वाइन, रातो मासु, जनावरको भित्री अंग, चिनीजन्य पेय पदार्थ नखाएको राम्रो मानिन्छ। अन्य प्रकारका बाथ रोगीहरुले भने खानपान बार्नु पर्दैन। अन्य प्रकारका बाथ रोगीहरुलाई दूध तथा दूधजन्य पदार्थहरु, फलफूल, सागसब्जी, माछा, मासु, अन्डा जस्ता खानेकुराहरु सन्तुलन मिलाएर खानका लागि चिकित्सकहरुले सल्लाह दिने गर्छन्।
बाथ महिलामा बढी देखिन्छ
समग्रमा हेर्दा बाथ रोग महिलामा बढी भएको पाइएको छ। जस्तैः गठिया, लुपस, ओस्टियो आरथाइटिस जस्ता बाथ रोग पुरुषको तुलनामा महिलामा ३ देखि ९ गुणा बढी हुने गरेको पाइएको छ। यद्यपि, युरिक एसिड, मेरुदण्डको बाथ रोगहरु भने पुरुषमा बढी देखिएको पाइन्छ।
बाथ वंशाणुगत रोग होइन
यो आमाबाबुबाट छोराछोरीमा सर्ने रोग भने होइन। आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा बाथ रोग भएका व्यक्तिहरुलाई बाथ रोग लाग्ने सम्भावना भने बढ्छ। यदि गर्भवती अवस्थामा रहेका महिलामा लुपस बाथ रोग छ भने गर्भमा रहेको बच्चामा पनि यस प्रकारको बाथ रोग हुने सम्भावना भने हुन्छ।
कसरी बच्ने ?
अटोइम्युनिटीका कारण हुने बाथ रोगबाट पूर्ण रुपमा बच्न नसके पनि नियन्त्रणमा ल्याउन भने सकिन्छ। बाथ रोगका लक्षण देखा पर्न थालेको करिब ३ देखि ६ महिना भित्र नै चिकित्सकको सल्लाह बमोजिम काम गर्न सकेको अवस्थामा बाथलाई पूर्ण रुपमा निको पनि बनाउन सकिन्छ। यसको समयमै सही रुपमा पहिचान गरी उपचार गर्न सकेको अवस्थामा मानिसको जीवन पहिलाको जस्तै सामान्य बन्न सक्छ। बाथ रोग हुनै नदिन भने सकिँदैन। स्वास्थ्यखबर