काठमाण्डौ । भोलिको माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेको भिड लागेको छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ । बजारमा अहिले तराईबाट आउने घर-तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको समितिले जनाएको छ।
समितिका अनुसार काठमाण्डौ उपत्यकामा मुख्यगरी सर्लाही, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटबाट तरुल भित्रिने गरेको छ । आज तरूलको भाउ किलोमा १० रूपैयाँले घटेको समितिले जनाएको छ । आज तरूलको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ रहेको छ। हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो ।
आज पिँडालु र सखरखण्डको भाउ किलोको ७० देखि ८० रूपैयाँ तोकिएको छ । माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन छ ।