काठमाडौँ । नेपालका छ प्रतिशतभन्दा धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको चेतावनीका रूपमा औँल्याएका छन्। जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए।
रिक्त घरहरू ‘मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको‘ राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता बताउँछन्। कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारीसमेत रहेका हेमराज रेग्मीले बीबीसीसँग भने, “यी बसोबास योग्य भइकन पनि मानिसहरू नबसिरहेका घरहरू हुन्। यो निकै उल्लेख्य सङ्ख्या हो।“
एक जना योजनाविद् प्राध्यापक पीताम्बर शर्माले पहाडी भेगको सम्पदा र जमिनको प्रयोग कम हुन थालेको बताउँदै त्यहाँको ‘आर्थिक भविष्य ठूलो सङ्कटमा रहेको‘ टिप्पणी गरे।
“एकातर्फ जनसङ्ख्या शिक्षित हुँदै जाँदा मानिसहरूका चाहना बढ्दै गयो भने अर्कोतर्फ देशमा रोजगारीको उपलब्धता कम हुँदै गयो। पहाडमा भएका रोजगारीका उपाय र स्रोत साधनको सदुपयोग तथा परिचालन नहुँदा मानिसहरू गाउँमा बस्ने अवस्था रहेन,” राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका प्राध्यापक शर्मा भन्छन्।
“पहिले जनसङ्ख्या घट्ने क्रम पूर्वी र मध्य पहाडतिर मात्र देखिन्थ्यो। अब त्यो पश्चिमतर्फ, सुदूरपश्चिमतर्फ फैलँदो छ।” २०५८ सालको जनगणनामा एउटा मात्र जिल्लामा जनसङ्ख्या घटेकोमा २०६८ सालमा २७ जिल्लामा पुगेको र २०७८ सालमा त्यो ३४ जिल्लामा पुगेको छ।
जनगणनाका बेला गणकहरू घर–घर पुग्दा त्यहाँ मानिस र बस्तुभाउ नभएका घरलाई रिक्त घर मानिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका अधिकारीहरू बताउँछन्।
मानिसहरूको बसोबास हुने ५४ लाख १६ हजार घरहरूमध्ये पाँच लाखजति खाली पाइएका हुन्।
त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङले पहाडी तथा हिमाली भेगमा मौसमी अवस्थाका कारण कतै कतै एकभन्दा धेरै घरसमेत हुने भए पनि लाखौँको सङ्ख्यामा घरहरू रित्तो हुनु सुखद नभएको बताउँछन्।
उनले कतै कतै गोठ, मचान, खोल्माजस्ता पूर्वाधारलाई समेत घरको रूपमा हेरिएको हुन सक्ने ठान्छन्। तर प्राध्यापक गुरुङले घरैपिच्छे सक्रिय उमेर समूहका मानिसहरू विदेशमा हुँदा त्यहाँ घर कुरेर बस्ने मानिसहरू पनि नरहने अवस्था आएको बताउँछन्। “सहरतिर गएर अस्थायी बसोबास गर्नेहरू बढेका छन्। कहिलेकाहीँ आएर रेखदेख गर्ने र स्थायी रूपमै छाड्नेहरू समेत केही छन्,” प्राध्यापक गुरुङ भन्छन्।
तथ्याङ्क अधिकारीहरूले आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ नै त्यसको कारण ठाने तापनि त्यसबारे छुट्टै समीक्षा गर्न बाँकी रहेको बताउँछन्।योजनाविद् पीताम्बर शर्माको बुझाइमा बसाइँसराइको पक्षबाट हेर्दा गाउँबाट सहर र पहाडबाट तराईतर्फ भएको मानिसहरू सरेका हुन सक्ने भए पनि त्योभन्दा महत्त्वपूर्ण पक्ष विदेशमा रहेका देखिएका नेपालीको सङ्ख्या रहेको छ।
“गाउँका मानिसहरू विदेश जाँदा त्यहाँ श्रम शक्तिको अभाव छ। परिवार सङ्ख्या समेत घट्दो छ। किनकि नेपालमा प्रजनन दर समेत निकै घटेको छ,” उनी भन्छन्। “जसले गर्दा विदेशमा भएका मानिसहरूका परिवार गाउँमा बसेर बेसाहा गर्नुभन्दा सहर बजारमा गएर बेसाहा गर्न सजिलो मान्न थाले। त्यहाँ किनेर खान पनि सजिलो छ। बालबच्चालाई शिक्षा–स्वास्थ्यमा पहुँच छ।” बीबीसी