![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं। ठेक्का लगाएको एक वर्षपछि बल्ल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ६ लाख कार्ड ल्याइएको छ।यातायात व्यवस्था विभागले गत वर्षको माघमा तीन महिनाभित्र उपलब्ध गराउने गरी १२ लाख स्मार्ट कार्ड खरिदको ठेक्का दिएकामा जर्मन ठेकेदार कम्पनीले गएराति ६ लाख कार्ड उपलब्ध गराएको हो।
विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले गएराति कतार एयरवेजको जहाजमार्फत कार्ड प्राप्त भएको जानकारी दिंदै प्रयोगशाला परीक्षण गरेपछि लाइसेन्स छपाइ थाल्ने बताए। उनका अनुसार प्रयोगशाला परीक्षण गर्न एक साता लाग्छ।
‘६ लाख कार्ड एयरपोर्ट भन्सारमा आइपुगेको छ। सबै प्रक्रिया पुर्याएर आइतबारतिर छुटाउँछौं,’ उनले बिजमाण्डूसँग भने, ‘प्रयोगशाला परीक्षण गरेपछि दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारीमा छौं।’
उनका अनुसार ठेकेदार कम्पनीले बाँकी ६ लाख कार्ड अबको ४५ दिनभित्र उपलब्ध गराउने बताएको छ। विभागले १२ लाख कार्ड उपलब्ध गराउन जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचसँग १४ लाख ९८ हजार ८० अमेरिकी डलर अर्थात १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा सम्झौता गरेको थियो। स्मार्ट कार्ड नभएकाले भदौदेखि आकस्मिकबाहेक लाइसेन्स छपाइ ठप्प छ। १३ लाखभन्दा बढी लाइसेन्सको पर्खाइमा छन्।