काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो।
cदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
फैसलाबारे पन्थीले पत्रकारहरुसँग भने, ‘परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९/०८० लाई भराइदिने ठहर भएको छ ।’
लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।