काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसअघि दुई मुलुकका अधिकारीहरुबीच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति भएको थियो ।
सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन् ।
अब भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरेर नेपाली बिजुली खरिद गर्ने बाटो खुलेको छ । नेपालको निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्छन् ।
नेपाल सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीति बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपत र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य छ । सहमतिअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जासचिव अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेका थिए ।