काठमाडौं खबर पुस ११, २०८०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । आइतबारदेखि सुरु भएको सो बहस सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण रोकिएको थियो । बुधबारबाट भने फेरि बहस सुरु भएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । बुधबार जाहेरवालाका तर्फबाट बहस सुरु भएको छ भने जाहेरवाला र सरकारी वकिललाई आज खाजा समयभित्र बहस सक्न भनिएको छ ।
अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार खाजा समयपछि सन्दीपका वकिलहरूले बहस थाल्नेछन् । सन्दिपका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने सन्दीपको मुद्दामा फैसला आउने छ ।