चुरे क्षेत्रको वन तराई मधेश क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्न निकै महत्वपूणर् मानिन्छ । यसैले पनि यसलाई सो क्षेत्रका निम्ति जीवनरेखाको रूपमा औँल्याउने गरिन्छ । चुरे क्षेत्र तराई मधेश क्षेत्रका निम्ति मात्र नभई नेपाल र आसपासका क्षेत्रसँग पनि यसको साइनो गाँसिएको छ ।
यस अर्थमा चुरे क्षेत्रको संरक्षणलाई समग्रमा महत्वपूणर् पर्यावरणीय कार्यक्रमका रूपमा लिन सकिन्छ । तर विडम्बना यस्तो महत्वपूणर् पर्यावरणीय क्षेत्रको वर्तमानमा अतिक्रमण तथा विनाशको चपेटामा परेको यथार्थ हामीसामु रहेको छ । चुरे मासिन थालेको चार दशकभन्दा बढी भयो र यसको संरक्षणको प्रयास भए पनि त्यो अझै राम्ररी संस्थागत हुन सकेको छैन ।
विश्वव्यापी रूपमा वन पैदावरको स्थितिको आकलन गर्ने ‘ग्लोबल फरेस्ट वाच’ले समेत मध्य तथा पूर्वी मधेशका आठ जिल्लामा पछिल्लो समयमा वन फँडानी तथा अतिक्रमण तीव्र रूपमा भएको अध्ययनमा देखाएको छ । यसबाट समेत चुरे क्षेत्रमा भइरहेको वन फँडानी तथा अतिक्रमणको सहजै अनुमान गर्न सकिने अवस्था छ । मुलुकका ३७ जिल्लाका ३२५ पालिकामा विस्तारित चुरे क्षेत्र संरक्षण समग्रमा राष्ट्रकै हितका निम्ति अति नै महत्वपूणर् कार्यसूची हो ।
चुरे क्षेत्रको विनाश तथा अतिक्रमणका कारण विशेष गरी तराई मधेश क्षेत्र विभिन्न तवरबाट प्रभावित भइरहेको छ र भविष्यमा अझ बढी प्रभावित हुने निश्चित छ । चुरे विनाशका दुस्प्रभाव देखिने क्रम पनि सुरु भइसकेको छ तर तीन तहकै सरकार र सम्बद्ध निकाय काममा भन्दा बढी कुरामा व्यस्त छन् । चुरे नासिने क्रमले भने बिराम पाएको छैन । प्रभावकारी संरक्षणको कुरा निकै टाढाको कुरा भयो ।
चुरे संरक्षण कार्यक्रमका निम्ति सरकारले गत सात वर्षको अवधिमा मोटामोटी ११ अर्ब रुपियाँ लगानी गरिसकेको छ । यो सानो लगानी होइन तर लगानीअनुरूपको प्रतिफल प्राप्त हुन नसकेको तीतो यथार्थ पनि सबैसामु छ । चुरे संरक्षणका समग्र कार्यक्रमलाई मिहिन ढङ्गले विश्लेषण गर्नुपर्ने भएको छ । चुरे विनाशका अनेक प्रभाव छन् । मूलतः तापक्रममा वृद्धि विश्वव्यापी समस्या हो तर चुरेको हरियालीले त्यस क्षेत्रमा वातावरणीय अनुकूलन कायम गर्न सक्ने थियो ।
चुरे विनाशले अनेक वातावरणीय समस्या देखिन थालेका छन्, जसको प्रत्यक्ष असर बालीनालीमा पर्दै गएको छ । तापक्रम वृद्धिसँगै बालीनालीमा रोगको प्रकोप बढ्नुका अतिरिक्त उत्पादनमा कमी आउने गर्छ । यसैगरी चुरे क्षेत्रमा अव्यवस्थित बसोबास, उत्खनन, वन विनाश तथा खनजोतका फलस्वरूपा पानी पुनर्भरणको प्रणाली कमजोर हुँदा पानीको सतह निकै तल पुगेको पनि निकै चिन्ताको विषय हो । केही वर्षअघिसम्म चापाकलमा ४० फिटमा पाइने पानी अहिले एक सय फिटमुनि जाँदा मात्र भेटाइनेस्थिति सिर्जना भएको छ । यसै कारणले सुक्खा मौसममा तल्लो तटीय क्षेत्रमा पानीको अभाव भइरहेको छ ।
चुरे विनाशको अर्को प्रमुख प्रभाव कृषि उत्पादनमा निकै ह्रास देखिएको छ । नदीको बहावमा परिवर्तनका कारण उर्वर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ र कृषि उत्पादन घट्दो छ । यस प्रकार चुरे वन विनाशले निकै दूरगामी प्रभाव देखिइसकेका छन् र यो क्रम निकट भविष्यमा अझै तीव्र गतिमा देखिनेमा शङ्का छैन । वर्तमानमा चुरे क्षेत्रको वन विनाश तथा अतिक्रमणलाई नियन्त्रण गर्न सम्बन्धित पक्षको मुख्य प्राथमिकता हुनुपर्ने देखिन्छ । यसमा कुनै किसिमको सम्झौता हुन सक्दैन ।
चुरे क्षेत्रबाट बालुवा, गिटीजस्ता सामग्रीको उत्खनन तथा निर्यातमा समेत तत्कालै नियन्त्रण आवश्यक छ । राजनीतिक दबाबबाट वन अतिक्रमण हुने विगतका क्रियाकलापमा निरुत्साहित गर्न‘ अति नै जरुरी छ । यसका निम्ति राजनीतिज्ञमा दृढ इच्छाशक्तिका अतिरिक्त चुरे क्षेत्र बचाउको भावना निश्चित रूपमा हुनै पर्नेछ । केही वर्षको अन्तरालमा अर्बौं रुपियाँ खर्चिए पनि चुरे अतिक्रमणको समस्या उस्तै भएकाले बालुवामा पानी खन्याएको स्थितिबाट माथि उठ्नै पर्छ । चुरे क्षेत्र संरक्षणका निम्ति स्थानीय जनसमुदायको सहयोगमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको संयुक्त प्रयास अति नै महत्त्वपूणर् हुनेमा कुनै शङ्का देखिँदैन । साथै सम्बन्धित सरकारले चुरे संरक्षणका लागि कडा नियम कानुन तथा यसको कार्यान्वयन पक्षमा पनि त्यत्तिकै जोड दिनु वाञ्छनीय छ ।