काठमाडौं खबर पुस ३, २०८०
काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायकको बजार विस्तार हुँदै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विभिन्न इन्टरनेट सेवा प्रदायक (आईएसपी)का २८ लाख ४० हजार ६२७ ग्राहक रहेका छन् ।
प्राधिकरणका अनुसार फाइबर, एडीएसएल केबल र वायरलेस इन्टरनेटका ग्राहक गरेर सबैभन्दा ठूलो बजार हिस्सा वर्ल्डलिंक कम्युनिकेसनको रहेको छ । वर्ल्डलिंकका ग्राहकको संख्या आठ लाख ११ हजार ९९७ रहेको छ ।
दोस्रो नम्बरमा डिस मिडिया नेटवर्कका ग्राहकको संख्या तीन लाख १७ हजार ३१ रहेको छ । यस्तै, तेस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का ग्राहकको संख्या दुई लाख ९५ हजार ६६१ रहेको छ ।चौथो नम्बरमा क्लासिक टेकका ग्राहकको संख्या दुई लाख ८५ हजार ४६६ र पाँचौँमा सुविसु केबलनेटका ग्राहकको संख्या दुई लाख ८३ हजार १२२ रहेको छ ।