काठमाडौं । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पुष एक गतेको कदम चालेपछि त्यसपछि छापिने सबै पत्रिकामा त्यो राजनीतिक कदमको समाचारले पत्रिका छापिएको थियो । सबैजसो पत्रिकामा श्री ५ बाट मन्त्रिमण्डल र संसदको विघटन शीर्षकमा समाचार छापियो । तर सोही दिन प्रकाशित हुने नयाँ समाज दैनिकको अग्रपृष्ठमा एउटा रोचक समाचार छापिएको थियो ।
नेपाली रकेट शीर्षकमा छापिएको सो समाचारमा त्रिपुरेश्वरमा भएको एउटा दुर्घटनाको थियो । सो दुर्घटनामा त्रिभुवनको शालिकको खम्बामा एउटा ट्रकले ठक्कर दिएको थियो । सो ट्रकको चालकले मदिरा सेवन गरेको प्रहरीले जनाएको थियो । तर पुलिसले समातेपछि फेरि पनि अनियन्त्रित ट्रकले नजिकै रहेको बाबुलाल पेट्रोलपम्पमा ठक्कर दिएको थियो । सो ठक्करपछि पेट्रोलपम्प जरैदेखि उप्किएर आकाशमा उँडेको सो समाचारमा उल्लेख छ ।
सो पेट्रोलपम्प आकाशमा रकेट जस्तैगरी उँडेको भन्दै समाचारको शीर्षक नै नेपाली रकेट राखिएको थियो । पुष १ गते सो पत्रिकाको सहायक शीर्षकमा कोइराला सरकार शासन चलाउन असमर्थ, अर्काे व्यवस्था नभएसम्मलाई श्री ५ बाट शासन अभिभारा ग्रहण भन्ने शीर्षकमा एउटा मुख्य समाचार छापिएको थियो ।
त्यसको तल अर्काे सहायक समाचारमा प्रधानमन्त्री गिरफ्तार, उपाध्याय, सिंह र अरु केही व्यक्ति पनि समातिए भनेर एउटा कार्यक्रममा पुगेका सबैजसो मन्त्रीहरुलाई शाही नेपाली सेनाले नियन्त्रणमा लिएको उल्लेख गरेका छन् ।