काठमाडौं । प्रश्नपत्रमा इसाईमय प्रश्न सोध्ने कान्ति माविलाई बुटवल उपमहानगरपालिकाले कारबाही गरेको छ । पत्रमा इसाईमय बनाउने प्रश्नहरू सोधिएपछि सो कार्यको सर्वत्र विरोध भएको थियो । विद्यालयको कक्षा ७ को ५० पूर्णाङ्कको प्रश्नमध्ये धेरै प्रश्न बाइबल र येशु ख्रिस्टसँग सम्बन्धित रहेको छ ।
विद्यालयको दोस्रो त्रेमासिक परीक्षाको हाम्रो बुटवल विषयमा बाइबलमा कति भाग छन् ? इसा मसिहा को हुन् ? जस्ता प्रश्नहरू सोधिएका थिए । यसको सामाजिक सञ्जालमा सर्वत्र विरोध भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
उपमहानगरपालिकाले मंसिर २८ गते पठाएको पत्रमा विद्यालयलाई यसको बारेमा प्रश्न सोध्नुको उचित कारण माग गरिएको छ । सो प्रश्नपत्रको प्रश्न नं ३ (क), प्रश्न नं ४ (क), प्रश्न नं ५ (क), (ख) र (ञ) गरी चार वटा प्रश्नहरू इसाई धर्मसँग सम्बन्धित रहेकोमा यति धेरै प्रश्नहरू एउटै धर्मसँग सम्बन्धित आउनुको स्पष्ट कारण माग गरिएको छ ।
यो प्रश्नहरू निर्धारित विशिष्टीकरण तालिका अनुसार तयार पारिएका हुन् वा होइनन् यकिन गरी शिक्षकसँग समेत स्पष्टीकरण लिएर पाँच दिनभित्र स्पष्ट जवाफ दिन निर्देशन दिइएको छ ।