काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पादकहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा ३२ सिट रहेको तेस्रो दलको नेता भए पनि सरकार संकटमा नरहेको बताएका हुन् ।
‘मलाई थाहा छ मेरो ससंदमा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुटनेवाला छैन’, उनले भने ।२०७९ मंसिरमा सम्पन्न निर्वाचन पछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिएपछि एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक वर्ष पूरा गर्न लाग्दा उनी सरकार तलमाथि नहुनेमा निश्चिन्त देखिए ।
गठबन्धन भित्र कतिपय मामिलामा विवाद, असहमति देखिए पनि तिनले सरकारको भविष्यमाथि कुनै प्रभाव नपार्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले भने, ‘तपाईंहरुले गठबन्धनभित्र पनि कतिपय अन्तरविरोधहरु देख्नु, सुन्नु भएको होला तर ती सरकारको भविष्यलाई प्रभाव पार्ने स्तरमा छैनन् ।’
मुलुकको वर्तमान राजनीतिक शक्ति सन्तुलनमाथि टिप्पणी गर्दै प्रचण्डले सरकारको भविष्यमा तत्काल कुनै प्रश्न उठ्ने अवस्था नरहेको बताए । गठबन्धनभित्र मात्रै होइन, वर्तमान सरकारले प्रमुख राजनीतिक मामिलामा प्रमुख प्रतिपक्षी दलसंग समेत वार्ता र सहकार्य गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
सम्पादकहरुको प्रश्नको जवाफमा उनले भने, ‘प्रमुखजसो सरोकारका बिषयहरुमा प्रमुख बिपक्षी दललाई समेत लिएर हिँड्ने एक खालको अवधारणा बनेको छ । जस्तो कि वर्तमान संविधान र त्यसले संस्थागत गरेका उपलब्धी उल्टाउन खोज्नेहरु विरुद्ध गठबन्धन र प्रमुख विपक्षी एक ठाउँमा छन् ।’